• १५ चैत २०८०, बिहिबार

युवाको मुख थुनेको विषयमा सरकारसँग जवाफ माग

blog

आन्दोलनका क्रममा मङ्गलबार सुरक्षाकर्मीले युवालाई पक्राउ गर्दै ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ८ गते । राष्ट्रिय सभाका सांसद डा. विमला राई पौड्यालले मङ्गलबार केही युवाहरूमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ । हिजो मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले ती युवालाई पक्राउ गरेको थियो ।

युवाहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुनेर बोल्न दिएको थिएन । सोही विषयमा आज सांसद पौड्यालले सो बारेमा सरकारको जवाफ माग गर्नुभएको हो ।  युवाहरू बोल्न खोजेका बेलामा प्रहरीहरूले उनीहरूको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गरेको सांसदहरूको भनाइ छ ।

संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उहाँले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? भन्दै प्रश्न गर्नुभयो । एक सार्वजनिक कार्यक्रममा युवाहरूले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए ।