सिक्टाको छानबिन गर्न उच्चस्तरीय समिति


सिराजुद्दिन खान

नेपालगञ्ज, साउन २५ गते । परीक्षणकै क्रममा सिक्टा सिँचाइ आयोजनाको मूल नहर दुईपटक भत्किएकाले नहरको गुणस्तरमाथि प्रश्न उठेको हुँदा भत्केको नहरको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । अर्बांैको लगानीमा तयार गरिएको आयोजनाको ३५ किलोमिटर मूल नहर पटक÷पटक भत्किएको हुँदा त्यसको गुणस्तर छानबिनका लागि दबाब परेपछि सरकारले बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले परीक्षणको क्रममा गत साउन ७ गते भत्केको नहरको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुभएको संयोजक तिवारीले बताउनुभयो । सो समितिमा मन्त्रालयका दुई र सिँचाइ विभागका दुई अधिकारीलाई राखिनुका साथै एक स्वतन्त्र विज्ञलाई सामेल गरिएको उहाँले जनाउनुभयो ।
समितिले नहरको गुणस्तर लगायत अन्य सबै पक्षको बारेमा गहिरिएर छानबिन गर्ने तथा सो बारेमा प्रतिवेदन तयार गर्ने जनाउँदै संयोजक तिवारीले बाँकेका किसानले छिट्टै सिँचाइ सुविधा उपभोग गर्न पाउन भन्ने मुख्य उद्देश्यका साथ काम गरिने स्पष्ट गर्नुभयो । nahar
नहरको पूरा भएको अगैयास्थित हेडवर्कस्देखि ३५ किलोमिटर खण्ड परीक्षण गर्न पानी छोड्दा भत्केको थियो । यसअघि पनि २०७३ असार १४ गते परीक्षणक्रममा सोही खण्डको नहर भत्केको थियो ।
पटकपटक नहरमा आउने समस्या र यसको समाधान गर्ने उद्देश्यले छानबिन समिति गठन गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
यसअघि गठन गरिएका समितिले गरेको सिफारिस कति कार्यान्वयन भए वा भएनन्, माटो परीक्षणदेखि विज्ञका राय सुझावअनुसार काम गरिएको थियो कि थिएन सो बारेमा पनि अहिलेको समितिले गहिरिएर अनुसन्धान गर्ने बताइएको छ ।
नहर भत्किनुमा प्राविधिकभन्दा बढी कमजोर माटोका कारण समस्या आएको आयोजनाले दाबी गरेको छ । माटो भरिएको ठाउँमा समस्या आउँछ भन्ने प्राविधिले अनुमान नगरिएको देखिन्छ वा यस्तो हुन्छ भन्ने अनुमान गरिएन, आयोजनाका एक इन्जिनियरले भन्नुभयो, यी विषय डिजाइन गर्दा नै ध्यान पु¥याउनुपथ्र्यो ।
दुई वर्षअघि भत्केको ठाउँ कालिका कन्स्ट्रक्सनले मर्मत गरेको थियो । अहिले उसले हस्तान्तरण गरिसकेको र मर्मत सम्भारको अवधिसमेत सकिसकेको हुँदा अबको मर्मतको दायित्व उसको नरहेको कालिकाले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले केही दिनअघि मात्रै विज्ञप्ति जारी गरेर मर्मत सम्भारको जिम्मा निर्माण कम्पनीकै भएको जनाएको थियो ।
सम्झौतामा निर्माण पूरा भएपछि आयोजना हस्तान्तरण गरे पनि बढीमा एक वर्ष ठेकेदारकै दायित्वमा रहन्छ । आयोजनाले काम पूरा गरेको प्रमाणपत्र दिएपछिमात्र उसको काम सकिन्छ । सिक्टामा ठेकेदारले दुई वर्षअघि नै आयोजना हस्तान्तरण गरेको र प्रमाणपत्र समेत पाइसकेको दाबी गरिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds