सनपाट खेतीबाट लगानी नै उठ्न छोड्यो


हरिप्रसाद कोइराला

रङ्गेली (मोरङ), साउन २५ गते । कुनै बेला भारत र बङ्गलादेशमा निर्यात हुने गरी सनपाट उत्पादन गर्ने दक्षिण पूर्वी मोरङका किसान यतिबेला लगानी डुब्ने डरमा छन् । दक्षिणपूर्वी मोरङका साविक टकुवा, आमगाछी, बरडङ्गा, महादेवा, हसन्दह, अमरदह र रङ्गेलीका किसान सनपाट खेतीमा भएको लगानी नै नउठ्ने अवस्थामा पुगेको बताउँछन् । रङ्गेली नगरपालिका–७ का किसान रमेशकुमार मण्डलले भन्नुभयो, दस कट्ठामा ३५ हजार रुपियाँ खर्चेर खेती लगाए । गत वर्ष प्रतिमन २४ सय रुपियाँमा बिक्री भएको सनपाट यो वर्ष एक हजार छ सयभन्दा माथि मूल्य गएको छैन । सनपाट तुल्याउने प्रविधि परम्परागत नै भएकोले यो खेती अरू खेतीको तुलनामा झन्झटिलो रहेको किसानहरू बताउँछन् । सामान्यतया दस कट्ठामा सनपाट खेती गर्न १८ हजार रुपियाँ खर्च हुने किसानको भनाइ छ । sanpat
सनपाट काटेर एकसाता अमारमा राख्नुपर्छ । अमारमा राखेपछि सबै पात झर्छ । त्यसपछि साना–साना मुठा बनाएर खाडीमा लगाउनुपर्छ । झण्डै तीन हप्तापछि सनपाट धुन योग्य हुन्छ । सनपाटबाट सन्डी निकाल्नलाई किसानले तीन महिना कुर्नुपर्छ भने पूरै उत्पादनका लागि चार महिना लाग्छ । सुनवर्सी–२ को बज्रघाटमा सनपाट धोइरहनु भएका कोकानन्द यादवले भन्नुभयो, गाई वस्तुलाई चाहिने डोरी, नाम्लो, दाम्लोके लागि मात्र खेती गरेको हुँ । उहाँले साहूले सनपाट नकिनिदिने र मूल्य पनि लगानी अनुसार नआउने भएकोले खेती घटाउँदै गएको जानकारी दिनुभयो ।
रङ्गेली नगरपालिका–६ का उमेश मण्डल भन्नुहुन्छ, मूल्य आउँदा राम्रै आम्दानी हुन्छ । पछुवा धानसमेत रोप्न पाइने भएकोले किसान सनपाटमा आकर्षित भएका हुन् तर तीन वर्षयता लगातार मूल्य घटिरहेको छ । मूल्य घटेपछि लगानी नउठ्ने अवस्था आएको हो ।
सुनवर्सी–१ का देवनारायण यादवले यो वर्ष तीन कट्ठामा सनपाट लगाउनुभएको थियो । उहाँले सनपाट खेतीमा आकर्षण घट्दै गएको बताउनुभयो । आव २०७३÷७४ मा मोरङमा पाँच हजार ७३८ हेक्टरमा सनपाट (पटुवा) खेती भएको थियो । त्यसमा आठ हजार ६०७ मेट्रिकटन सनपाट उत्पादन भएको थियो । यस्तै २०७४÷७५ मा पाँच हजार ४४२ हेक्टरमा सनपाट खेती भएकोमा आठ हजार दुई सय मेट्रिक टन उत्पादन भएको थियो ।
गत वर्षको बाढीले ११० हेक्टरको सनपाट खेती नोक्सानी भएपछि उत्पादन घटेको हो । तत्कालीन क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उपे्रतीका अनुसार ०७५÷०७६ मा झण्डै पाँच हजार हेक्टरमा सनपाट खेती भएको छ । उहाँले सनपाट खेती निर्यातजन्य नगदेबाली भए पनि पछिल्लो दशक खेती र उत्पादन अत्यन्तै न्यून हुन थालेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds