बिल मिलाउने प्रवृत्ति झाँगिदै

गोरखापत्र समाचारदाता

काठमाडौं, साउन २५ गते । सरोकारवालाहरूले नेपालमा नीतिगत भ्रष्टाचार डरलाग्दो रूपमा रहेको बताएका छन् । भ्रष्टाचारबाट मुक्त क्षेत्र भेट्न गाह्रो भएको भन्दै त्यसमा पनि नीतिगत भ्रष्टाचार नियन्त्रण सबैभन्दा चुनौतीपूर्ण भएको उनीहरुको निष्कर्ष छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विहीवार गरेको ‘सार्वजनिक नीति र भ्रष्टाचार’ विषयक छलफल कार्यक्रममा सहभागीहरूले नेपालमा नीतिगत भ्रष्टाचार गर्न ठेकेदारदेखि उच्च पदस्थ व्यक्तिले नीति निर्मातालाई दबाब दिने गरेको बताएका छन् ।
कार्यक्रममा सार्वजनिक नीति र भ्रष्टाचार विषयक कार्यपत्र प्रस्तुत गर्दै राम्रो नेपालका सदस्य एवं प्राध्यापक विशाल खनालले नेपालमा कुल ग्राहस्थ उत्पादनको करिब पाँच प्रतिशत रकम वार्षिकरूपमा भ्रष्टाचार हुने गरेको बताउनुभयो । नेपालमा ठेकेदार, राजनीतिक दल, उच्च पदस्थ व्यक्तिले आफू अनुकूलको नीति बनाउन नीति निर्मातालाई दबाब दिने गरेकाले नीतिगत भ्रष्टाचार मौलाउने गरेको उहाँको कार्यपत्रमा उल्लेख गरिएको छ ।
नेपालमा विकासका आयोजना छनोट गर्दा नै भ्रष्टाचारको छिद्रा खोजेर योजना छनोट हुने गरेको नीति विश्लेषकहरूको भनाइ छ । अधिकांश योजनामा व्यवहारमा सफल कार्यान्वयन भन्दा पनि बिल र भरपाई मिलाउने प्रवृत्ति बढ्दै गएको देखाइएको छ । विकासको बजेट रकमान्तर गरेर अन्यत्र हाल्ने, ठेकेदारले समयमा नै परियोजना सम्पन्न नगर्ने र परियोजना सम्पन्न नगरे पनि कारवाही नहुने प्रवृत्ति मौलाउँदै गएकाले नेपालमा भ्रष्टाचार नियन्त्रण हुन सक्ने अवस्था नदेखिएको प्राध्यापक खनालले कार्यपत्रमा उल्लेख गर्नुभएको छ ।
त्यस्तै व्यक्तिगत लाभका लागि प्राकृतिक स्रोतको दोहन, राजनीतिक व्यक्तिको व्यापारिक घरानासँगको अप्राकृतिक सम्बन्ध र स्वार्थ, सार्वजनिक नीति निर्माणका क्रममा विदेशी स्वार्थ हाबी हुनु, अपराध र दण्डहीनता मौलाउँदै जानु नीतिगत भ्रष्टाचारको उदाहारण भएको उहाँले औँल्याउनुभयो ।
प्रथम गर्भनर हिमालयशमशेर राणाले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि सरोकारवाला सबैले आआफ्नो स्थानबाट जनदबाब सिर्जना गर्नुपर्ने बताउनुभयो । अर्का पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षत्रीले कुनै पनि व्यक्ति स्रोत र साधनमाथि अनावश्यक निकटता रहनु भ्रष्टाचारको संकेत भएको विचार व्यक्त गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds