आउनै छाड्यो नगराका आयस्ता

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २५ गते । हनुमानढोका दरवारका दुई ठूला नगराका नाममा जनकपुरमा रहेको १७४ रोपनी जग्गाबाट ३५ वर्षदेखि आयस्ता आएको छैन । जनकपुरको पुरानो गाउँहरू सखल्पु, काटाकुटी, कुसावती, दुम्कोट, साँखल्पुमा यी जग्गा अझै छन् । नगरा बजाउने नगार्जी (नगर्ची) वासुदेव परियार (ढोकाटोल)का अनुसार ३५ वर्ष अघिसम्म चैतेदशैँ र बडादशैँमा गरी दुइपटक वाली आउने गरेको थियो ।
‘विगतमा एक रोपनीको एक रुपियाँका दरले १७४ रुपियाँ कुत वुझ्दै आएको थिएँ,’ नगर्चीको भनाइ छ । उहाँका अनुसार जिम्मावाल स्थानीय कृष्णबहादुर थापा क्षत्री र खड्गबहादुर थापाले बाली बुझाउँथे । अहिले थापाद्वय सम्पर्कविहीन भएको गुनासो वासुदेव परियारको छ ।
परियारका अनुसार पृथ्वीनारायण शाहका पालाका विसे नगर्ची भन्ने वदुवा नगर्चीको पालादेखि नै नगरा वजाउने पछिल्लो पुस्ताले ठूलो नगरा वजाउन पाएको हो ।
ठूलो नगरा भने तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले दिगु तलेजुमा नित्य पूजा र आरती हुँदा बजाउने व्यवस्था गरेका थिए । ‘ललितपुरको सानागाउँमा १८ रोपनी जग्गा ठूलो नगराको नाममा छ तर यो जग्गाको उचित व्यवस्थापन हुन सकेको छैन’, वासुदेव परियार भन्नुहुन्छ । हाल बिग्रिएका दुई ठूला नगरा मर्मत गरी यथास्थानमा राखिएको छ ।
नगरको प्रचलन अनुसार क्षमापूजा गरिदेउ भनेर विभिन्न निकायमा अनुरोध गर्दा सुनुवाइ नभएको परियारको गुनासो छ । परियारका अनुसार नगरा राख्ने घर पुनः निर्माण गर्दा वास्तविक क्षेत्रफल भन्दा साँघुरो बनाइएको छ, साँघुरो स्थानमा नगरा बजाउन असजिलो हुने भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds