• ८ वैशाख २०८१, शनिबार

बाघको आक्रमणबाट प्रहरी सहित तीनजना घाइते

blog

दीपकप्रसाद गौतम

वीरगञ्ज,  चैत ८ गते । पर्सा राष्ट्रिय निकुन्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट १ जना प्रहरीसहित तीन जना घाइते भएका छन् ।

चितुवा बाघको आक्रमणमा परी घाइते हुनेमा पोखरिया नगरपालिका वडा नम्बर ४ सतबरिया टोलका ३० वर्षका दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव रहनुभएको छ । घाइतेमध्ये मियाँको अवस्था गम्भीर भएकोले उहाँलाई पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ भने तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बिहान सतबरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सतबरिया टोलकै एक गोठघरमा चितुवा लुकेर बसेको हालसम्म नियन्त्रणमा नआएको स्थानीय शैलेश गुप्ताले बताउनुभयो । चितुवालाई नियन्त्रणमा लिन अहिले जिल्ला वन डिभिजन कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको बताइएको छ । यस अघि पर्साको ठोरीमा पर्सा राष्ट्रिय निकुन्जबाट गाउँ पसेको पाटे बाघले गोठमा पसी त्यहाँ रहेका सात चौपायालाई मारेको थियो । 

सोमबार राती ठोरी गाउँपालिका वडा नम्बर ४, घ्याङडाँडाका किसान मिकमार लामाको घरगोठमा पसेर बाघले एउटा वयस्क भैंसीको पाडो र ६ ओटा बाख्रा गरी ७ वटा चौपाया मारेको थियो ।