• १६ चैत २०८०, शुक्रबार

बेनी बजारको अव्यवस्थित तार हटाउन सुरु

blog

बेनी बजारमा रहेका अनावश्यक तारहरू हटाइँदै । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत ८ गते । म्याग्दीको बेनी बजारमा टाँगिएको अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । बेनी नगरपालिकाले बजारमा रहेका अव्यवस्थित तारहरू हटाउन थालेको हो । 

बजारलाई सफा र सुन्दर बनाउन नगरले विद्युत्का पोलहरूमा अस्तव्यस्त रूपमा रहेका तारहरूलाई हटाउन लागेको हो । विद्युतका पोलहरूमा रहेका तारहरूलाई व्यवस्थित गरेर बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाले यो अभियान थालेको हो । विद्युतका पोलहरूमा रहेका अनावश्यक तारहरूले बजारलाई नै कुरूप बनाउनुका साथै यत्रतत्र झुन्डिएका तारहरूले दुर्घटनाको जोखिम समेत बनाएको थियो । 

नेपाल विद्युत् प्राधिकरण र विभिन्न केवल तथा इन्टरनेट प्रदाय संस्थासँग समन्वय गरेर बजार क्षेत्रका विद्युत् पोलमा रहेका अनावश्यक तारहरू हटाएर नगरलाई सफा र सुन्दर बनाउने अभियान थालिएको नगरका प्रमुख सुरत केसीले बताउनुभयो । उहाँका अनुसार १५ दिनभित्र बजार क्षेत्रका तारहरूलाई व्यवस्थित गरिनेछ । 

विभिन्न केबुल तथा इन्टरनेट सेवा प्रदायकहरूले मापदण्ड विपरीत विद्युत्का पोलहरूमा अस्तव्यस्त रूपमा तानिएका तारहरूले बजारको सौन्दर्य कुरूप बनेको र दुर्घटनाको जोखिम बढेको पाइएपछि सेवा प्रदायक सङ्घसंस्थाको सहकार्यमा  बजारको बालमन्दिर चोकबाट तारहरूको व्यवस्थापन गराउने काम सुरु गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।

नगर प्रहरीको नेतृत्वमा वडा नम्वर ७ र ८ वडाको बजार क्षेत्रमा रहेका विद्युतका  पोलहरूमा रहेका अव्यवस्थित इन्टरनेट तथा केवल प्रदायक संस्थाका तारहरू १५ दिनभित्र हटाइने नगरपालिकाले जनाएको छ । पोलका अव्यवस्थित तारहरू हटाउन केवल, इन्टरनेट प्रदायक संस्थाका प्रतिनिधिहरू, नगर प्रहरी र तार व्यवस्थापन गर्ने तीन जनाको प्राविधिक टोली बजारमा खटिएको छ ।