• १६ चैत २०८०, शुक्रबार

विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम

blog

फाइल तस्बिर ।

वालिङ समाचारदता

वालिङ, चैत ८ गते ।  स्याङ्जाको चापाकोटमा रहेको गङ्गालाल माध्यमिक विद्यालयले विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको छ । 

शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउन पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयले आफ्नै प्रयास र लगानीमा कार्यक्रमअन्तर्गत कृषि खेती सुरु गर्न लागेको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो । चापाकोटमा समथर भूमि रहेको र विद्यालयको पनि प्रशस्त जग्गा रहेकाले कार्यक्रम प्रभावकारी हुने भट्टराईको भनाइ छ ।

विद्यालयको नाममा रहेको १८९ रोपनी जग्गामध्ये झन्डै ७० रोपनीमा अहिले पनि सजिलै खेती गर्न सकिन्छ, प्रअ भट्टराईले भन्नुभयो, “विद्यालयको नाममा रहेको चापाकोटकै ठूलो खेलमैदानको छेउछाउमा पनि खेती लगाउन सकिन्छ ।” 

 ६५० विद्यार्थी अध्ययनरत विद्यालयको कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने भट्टराईले जानकारी दिनुभयो । 

“समूह बाँडेर यो कार्यक्रम सञ्चालन गरिने र कसले राम्रो उत्पादन गर्छ भनेर प्रतिस्पर्धा नै गरिनेछ,” उहाँले थप्नुभयो, “प्रतिस्पर्धात्मक कार्यक्रम हुने हुँदा प्रभावकारी र सीपमूलकसमेत हुनेछ ।”

विद्यार्थीहरू शैक्षिक भ्रमणमा गएका बेला विभिन्न विद्यालयमा सञ्चालन गरेको कार्यक्रम देखेर प्रभावित भएका र उनीहरूकै मागका आधारमा यो कार्यक्रम सुरु गरिएको विद्यालयले जनाएको छ । 

कार्यक्रमको शुभारम्भ गर्दै चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाण ‘ईश्वर’ले व्यावहारिक शिक्षा अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमको प्राथमिकतामा विद्यालयमा अध्ययन गर्ने विपन्न तथा निम्न वर्गका विद्यार्थी रहेको विद्यालयले जनाएको छ । आगामी शैक्षिक सत्रदेखि पूर्ण कार्यान्वयनमा लैजाने नीति विद्यालयले लिएको छ । विद्यार्थीहरू विद्यालयमा दैनिक रूपमा पठनपाठनका साथै आयआर्जनका काममा समेत संलग्न हुनेछन् । 

जसबाट प्राप्त भएको आम्दानीले विद्यार्थीले आआफ्नो अध्ययन खर्च जुटाउनुका साथै परिवारका लागि समेत आर्थिक पक्षमा सहयोग गर्न सक्षम हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरण्यलाल आचार्यले बताउनुभयो । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि छनोट गरेका विद्यालयमा गङ्गालाल मावि भने परेको छैन । केन्द्रले देशभरबाट १४० विद्यालयलाई छनोट गरी विभिन्न कार्यक्रम सञ्चालन गर्न सुरु गरेको छ ।

जिल्लाको गल्याङ नगरपालिकाको बज्रेभन्ज्याङ मावि कृषि र बिरुवा गाउँपालिकाको जीवनज्योति मावि कृषि किट व्यवसायका लागि छनोट भई कार्यक्रमसमेत लागू भइसकेको छ ।