• १५ चैत २०८०, बिहिबार

‘दुई वर्षभित्र सबै घरमा बिजुली’

blog

तनहुँ समाचारदाता

तनहुँ, चैत ८ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् सुविधा पु-याउने गरी प्राधिकरणले तयारी गरिरहेको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ६ मा निर्माण भएको ३३÷११ केभीको सराङघाट सबस्टेसन उद्घाटनका क्रममा घिसिङले सरकारले निर्धारण गरेको सो लक्ष्य पूरा गर्न प्राधिकरणले विद्युत् आपूर्ति प्रणालीमा व्यापक सुधार गरिरहेको बताउनुभएको हो । 

सो सबस्टेसनको घिसिङ र एसियाली विकास बैङ्क (एडीबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुस्वाले संयुक्त रूपमा सोमबार सबस्टेसनको उद्घाटन गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो । 

“सबै नेपालीको घरमा विद्युत् पु-याउने नेपाल सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौँ, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्,” घिसिङले भन्नुभयो, “योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौँ ।” 

उद्घाटन कार्यक्रममा आवासीय नियोग प्रमुख कुस्वाले विद्युत् पहुँच विस्तारमा नेपालको प्रगति विश्वस्तरमै उत्कृष्टमा पर्ने बताउनुभएको थियो । “विश्वको विद्युत् पहुँचको वार्षिक वृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकोमा नेपालको दर ४.३ प्रतिशत छ । विद्युत् प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौँ,” उहाँले भन्नुभयो । उहाँले नेपालको पूर्वाधार क्षेत्रमा एडीबीको लगानी निरन्तर रहने पनि बताउनुभयो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । 

आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ । प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पु-याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । 

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो । सराङघाट सबस्टेसनमा ६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीनवटा फिडर लाइन निकालिएको छ । एउटा फिडर जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति भइरहेको छ । यसबाट त्यस क्षेत्रका उपभोक्ताहरूले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन् । 

आयोजना प्रमुख बोधराज ढकालले तनहुँ जिल्ला सारभूतरूपमा पूर्ण विद्युतीकरण भएको उल्लेख गर्दै दुई महिनाभित्र पुँजीकरणको काम सम्पन्न गरी आयोजना बन्द गरिने बताउनुभयो । करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो ।