शान्ति, समृद्धि र दिगो विकासका बारेमा नेपालले जोड दिने

विष्णु नेपाल

Sushil daiजकार्ता, वैशाख ९ गते । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प)को दसौँ वार्षिकोत्सवमा यस क्षेत्रको शान्ति, समृद्धि र दिगो विकासमा नेपालले जोड दिने जानकारी दिनुभएको छ । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न ‘दक्षिण–दक्षिण सहयोग सबलीकरण’ भन्ने नाराका साथ यहाँ सुरु भएको नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दसाँै वार्षिकोत्सव समारोहको शुभारम्भ समारोहमा भाग लिएपछि रासस र नेपाल टेलिभिजनसित सङ्क्षिप्त कुराकानी गर्दै उहाँले यस क्षेत्रको एकता र सहकार्यले नै शान्ति, समृद्धि र दिगो विकास लक्ष्य पूरा गर्न सकिने बताउनुभयो ।

इन्डोनेसियाको राजधानी जकार्ताको जकार्ता सभागृहमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भव्य समारोहका बीच सो सम्मेलनको शुभारम्भ गर्नुभएको छ । उद्घाटनसत्रमा एसिया र अफ्रिकी देशका राष्ट्राध्यक्ष, सरकारप्रमुख तथा सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रधानमन्त्री कोइरालाले शान्ति र समृद्धिले नै प्रजातन्त्रलाई सुदृढ बनाउने विषयमा केन्द्रित रही आफ्नो धारणा राख्ने जानकारी दिँदै भूपरिवेष्ठित र विकासोन्मुख देशका समस्याका बारेमा सम्मेलनमा सहभागीका बीचमा द्विपक्षीय हितका विषयमा कुराकानी पनि हुने पनि जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एसिया र अफ्रिका क्षेत्रका देशमा शान्ति कायम गर्दै समृद्धिको बाटोमा हिँड्न सम्मेलन कोसेढुङ्गा साबित हुने बताउनुभयो । उहाँले दक्षिण दक्षिण बीचको सम्बन्धलाई अझ बलियो बनाउन सम्मेलनले सहयोग पु¥याउने छ भन्नुभयो ।

सम्मेलनस्थलमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सम्मेलनमा भाग लिन आउनुभएका विशिष्ट अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । यसपछि सम्मेलनका सहभागी देशका राष्ट्राध्यक्ष, सरकारप्रमुख एवम् सरकारी प्रतिनिधिहरुले सामूहिक फोटो खिचाउनुभएको थियो ।

त्यसपछि उहाँहरु मुख्य सभाहलमा प्रवेश गर्नुभएको थियो । इन्डोनेसियाका परम्परागत वेशभूषाका कला प्रदर्शन शुभारम्भ समारोहमा भएको थियो भने त्यसपछि राष्ट्रपति जोको विडोडोले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा उहाँले सहभागीहरुलाई स्वागत गर्दै ऐतिहासिक बाङ्डुङ सम्मेलनले देखाएको बाटोमा एसियाली र अफ्रिकी देशहरु अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले दक्षिण—दक्षिण बीचको सहकार्यले यस क्षेत्रमा दिगो शान्ति र समृद्धि कायम गर्न सकिने बताउनुभयो । अहिले सहभागी देशका प्रतिनिधिहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । यसक्रममा चीनका राष्ट्रपति सी जिन पिङ, जापानका प्रधानमन्त्री सिन्जो आबेले पनि आफ्नो भनाइ राख्नुभएको छ ।

प्रधानमन्त्री कोइरालाले आज नै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै कोइरालाले एउटा सभाको सहअध्यक्षतासमेत गर्ने कार्यक्रम रहेको छ । उहाँले आज नै सम्मेलनमा भाग लिन आउनुभएका आफ्ना समकक्षीसित भेटघाटसमेत गर्नुहुने कार्यक्रम रहेको छ । सम्मेलनका बारेमा समाचार सङ्कलन गर्न अहिले जकार्तामा करिब एकसयभन्दा बढी देशका सञ्चारकर्मी भेला भएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना