बढ्दो परनिर्भरता (सम्पादकीय)

वैदेशिक व्यापारको तथ्याङ्कले नेपालको परनिर्भरता चिन्ताजनक रूपमा बढ्दै गएको देखाइरहेको छ । निर्यातको तुलनामा आयात उच्च दरमा बढ्दै गएकाले व्यापार घाटा उच्च रहँदै आएको छ । आ.व. २०६१÷६२ मा कुल व्यापारमा वस्तु निर्यातको हिस्सा २८ प्रतिशतभन्दा बढी रहेकोमा २०७४÷७५ मा आइपुग्दा करिब सात प्रतिशतको हाराहारीमा झरेको छ । यसै अवधिमा वस्तु निर्यात–आयात अनुपात ३९ प्रतिशतबाट सात प्रतिशतमा झरेको छ । विगत पाँच वर्षको अवधिमा औसत निर्यात वृद्धि दर ०.५ प्रतिशत र आयात वृद्धि दर १७ प्रतिशतको छ । राजनीतिक अस्थिरता, कमजोर भौतिक पूर्वाधार र लगानीको वातावरणलगायतका संरचनागत समस्याले गर्दा वस्तु निर्यात वृद्धि दर अपेक्षित गतिमा बढ्न नसकेको हो । 

भन्सार विभागका अनुसार आ.व. २०७४÷७५ मा नेपालको कुल निर्यात ८१ अर्ब १९ करोड रुपियाँ र आयात १२ खर्ब ४३ अर्ब रुपियाँको रह्यो । व्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व. २०७४÷७५ मा कुल वैदेशिक व्यापार २५.२७ प्रतिशतले बढ्दा निर्यात ११.१७ प्रतिशत बढ्यो भने आयात २६.३१ प्रतिशतले बढेकाले व्यापार घाटाको वृद्धि दर २७.५३ प्रतिशत भयो । नेपालको विश्वका १५५ मुलुकमा व्यापार भइरहेकोमा २८ मुलुकसँग मात्रै व्यापार नाफामा छन् । तर ती मुलुकमा हुने निर्यात ज्यादै सानो छ । वैदेशिक व्यापारको सबभन्दा ठूलो साझेदार भारत रहेकाले व्यापार घाटा पनि सबभन्दा धेरै सात खर्ब ६४ अर्ब रुपियाँ पुगेको छ । व्यापार घाटा चीनसँग एक खर्ब ५७ अर्ब ५४ करोड पुगेको छ । नेपालको निर्यात भारतमा ४६ अर्ब ६० करोड, चीनमा दुई अर्ब ४३ करोड रुपियाँ मात्रै छ ।
चीन, भारत र बङ्गलादेशलाई विश्वले आँखा लगाएको छ । ठूलो जनसङ्ख्या भएका यी छिमेकी मुलुकसँग नेपालको व्यापार धेरै भए पनि घाटामा छ । भारतसँग नेपालको निर्यातको ५७.४ प्रतिशत र आयातको ६५.२० प्रतिशत रहेको छ । नेपाल–भारतबीच भएको व्यापार सन्धिले नेपालको निर्यात व्यापारलाई सहयोग पु¥याउन नसकेको अनुभव गर्न थालिएको छ । भारतीय कृषिजन्य वस्तुले नेपालमा शून्य भन्सार सुविधा र सहज प्रवेश पाउने भए पनि नेपाली कृषिजन्य वस्तुले भने भारत प्रवेशमा धेरै समस्या भोग्नुपरिरहेको छ । चीनमा हुने निर्यात नगण्य रहे पनि आयात १२.९ प्रतिशत पुगेको छ । चीनतर्फ पनि कृषिजन्य वस्तु निर्यातको सम्भावना रहे पनि उपयोग हुन सकेको छैन । कफी, कार्पेट, तयारी कपडा जस्ता वस्तु तेस्रो देशमा निर्यात हुने भए पनि परिणाम बढ्न सकेको छैन । तुलनात्मक लाभका १२ सहित निर्यात सम्भावना भएका २४ वस्तुको पहिचान भएको छ तर तिनको निर्यात निराशाजनक छ । कुल निर्यातको दोब्बरभन्दा बढी अर्थात् एक खर्ब ९७ अर्ब पाँच करोड रुपियाँको त इन्धन नै आयात हुने गरेको छ ।
यो स्थितिले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि सरकारले विगतमा लिएका नीति सफल हुन नसकेको स्पष्ट हुन्छ । निर्यात वृद्धिका लागि आन्तरिक उत्पादन बढाउनु पहिलो सर्त हो । पछिल्लो समयमा औद्योगिक लगानी र वातावरणमा सुधार आए पनि औद्योगिक वस्तुको उत्पादन र उत्पादकत्व प्रतिस्पर्धी हुन सकेको छैन । दुई दशकअघि कुल गार्हस्थ उत्पादनमा औद्योगिक उत्पादनको योगदान करिब १० प्रतिशत रहेकोमा अहिले त्यसको आधामा आइपुगेको छ । औद्योगिक उत्पादन वृद्धिका लागि विदेशी लगानी आकर्षण गर्न आवश्यक छ । आन्तरिक उत्पादनको गुणस्तर र प्रतिस्पर्धी क्षमता वृद्धि अर्काे शर्त हो । व्यापार अवरोध घटाउने÷हटाउनेतर्फ ध्यान जानुपर्छ । भारत, चीन र अन्य मुलुकसँगको व्यापारमा विभिन्न अवरोध सामान गर्नुपरेको छ । हाल नेपाल–भारत व्यापार सन्धि पुनरावलोकनको चरणमा रहेकाले सन्धिले पारेका अप्ठेरा सुल्झाउनैपर्छ । चीनसँग पारवहन सुविधाको उपयोगका लागि पारवहन, ढुवानी सम्झौता सम्पन्न भएको छ तर यसको प्रोटोकल तयार भइसकेको छैन । नेपाली कृषिजन्य वस्तुले चीनको बजारमा सहज प्रवेशका लागि पहल हुन आवश्यक छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds