• ५ वैशाख २०८१, बुधबार

गुरुकुल सञ्चालन गर्न स्रोत अभाव

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत ८ गते । गाउँघरमा गुरु पुरोहितको अभाव हुन थालेपछि गुरुकुल शिक्षाप्रतिको आकर्षण बढेको छ। गुरुकुलमा निःशुल्क पढाउने परम्परा रहेकोले सञ्चालनमा भने समस्या हुने गरेको छ। 

मोरङको लेटाङ–९, जाँतेस्थित वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठमा २६ जना ब्राह्मण बाल बटुकले गुरुकुल शिक्षा लिइरहनुभएको छ। सरकारी सहयोगबिना नै सञ्चालन भएको विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थी पढाइ नसक्दै गुरु पुरोहित हुने गरेका छन्। 

कक्षा ४ सम्मको औपचारिक शिक्षा अध्यापनको स्वीकृति प्राप्त गरेको विद्यापीठले औपचारिक शिक्षासँगै चण्डी, रुद्री, वेद, गीता, अमरकोष, न्याय, भाषा र व्याकरण पढाउँदै आएको छ। विद्यालयका प्रधानाध्यापक एकराज भट्टराईका अनुसार स्थानीय शिक्षाप्रेमीले छ कट्ठा जग्गा दान दिएपछि सोही जग्गामा विद्यापीठ सञ्चालनमा आएको हो। २०६६ सालमा जाँतेवासीले जाँतेमा मानव बसोबास भएको शताब्दी वर्ष पूरा भएको अवसरमा महापुराण लगाए। 

सोही स्थानमा जन्मिनुभएका पूर्वीय शास्त्रका ज्ञाता स्वर्गीय खेमराज केशवशरणले वाचन गर्नुभएको महायज्ञबाट जग्गा र नगद सङ्कलन भयो। खेमराज केशवशरणले नै गुरुकुल स्थापनाका लागि जग हालिदिनुभएपछि त्यसैलाई निरन्तरता दिएको स्थानीय अम्बिकाप्रसाद अधिकारीले बताउनुभयो। खेमराज केशवशरणले निःशुल्क पुराण वाचन गरिदिनुभयो। जसले गर्दा डेढ बिघा जमिन र १३ लाख रुपियाँ जम्मा भयो। सोही खर्चले गाउँमा मन्दिर निर्माण र गुरुकुल सञ्चालन गरिरहेको अधिकारीको भनाइ छ। 

झन्डै १० कट्ठा जग्गामा बनेका चारवटा सानासाना भवनमा विद्यार्थीले आवासीय रूपमा संस्कृतको आधारभूत ज्ञान लिइरहेका छन्। सञ्चालक समितिका सदस्यसमेत रहनुभएका अधिकारीले भन्नुभयो, “खानका लागि स्थानीयले प्रदान गर्ने मुठीदानले पुग्छ। गुरुहरूलाई तलब दिन जहिल्यै धौ–धौ पर्छ।” तीन जना शिक्षकलाई नियमित तलब दिने स्रोतको अभाव भएकाले थप आउने विद्यार्थीलाई रोक्नुपरेको उहाँको भनाइ छ। 

प्रधानाध्यापक एकराज भट्टराईले भन्नुभयो, “लेटाङ नगरपालिका र महर्षि फाउन्डेसनले विद्यापीठलाई सहयोग गरेका छन् तर त्यो पर्याप्त हुँदैन।” संस्कृत पढेर पनि प्राविधिक धारमा जस्तै दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ। सरकारले पनि सहयोग गर्ने हो भने संस्कृत पढ्न भारत गइरहनुपर्दैन। उहाँले संस्कृत भाषा सबै भाषाको गुरु भएर पनि नेपालमा संस्कृत पढ्ने र पढाउनेको महत्व नरहेको बताउनुभयो।