• ७ वैशाख २०८१, शुक्रबार

सम्झौताको तीन वर्षपछि आकाशे पुलको शिलान्यास

blog

सांकेतिक तस्बिर ।

रङ्गेली समाचारदाता 

विराटनगर, चैत ८ गते । निर्माण सम्झौता भएको तीन वर्षपछि विराटनगर–१७ रानी भन्सारको एक नम्बर ढाट नजिक स्वागतद्वार र आकाशे पुलको शिलान्यास गरिएको छ। कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रबाट उद्योग सङ्गठन मोरङको संयुक्त लगानीमा निर्माण हुने संरचनाको मङ्गलबार शिलान्यास गरिएको हो। 

छ करोड २५ लाख २४ हजार ९४४ रुपियाँ लगानीमा निर्माण हुने स्वागतद्वार तथा आकाशे पुलको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्यास गर्नुभएको हो। सम्झौता भए पनि निर्माणस्थलमा विवाद हुँदा काम रोकिएको थियो। पुनः कार्यादेश दिएर २०८१ साल फागुन २५ गतेसम्म निर्माण सम्पन्न गरिने भएको छ। 

मुख्यमन्त्री कार्कीले सरकारले गर्ने लगानीले उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखेको बताउनुभयो। उहाँले प्रदेश राजधानीको सौन्दर्यका लागि निर्माण गरिने स्वागतद्वार तथा आकाशे पुलले रोजागारीको अवसर सिर्जना गर्ने बताउनुभयो। मुख्यमन्त्री कार्कीले नागरिकलाई छुने विकासको पक्षमा प्रदेश सरकार रहेको बताउनुभयो। 

सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत नागरिकले अनुभूति गर्ने किसिमका योजना ल्याउने बताउँदै कुनै अलमलमा नपर्न आग्रह गर्नुभयो। उहाँले विकास निर्माणका योजनालाई प्राथमिकीकरण गरेर सरकारले काम गर्ने बताउनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंले विकास निर्माणको कामले गति लिने दाबी गर्नुभयो। उहाँले विविध विकासको झल्को झल्काउने उद्देश्यले विराटनगरमा स्वागतद्वार निर्माण गर्ने योजना अगाडि सारिएको बताउनुभयो। 

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीब्र रूपमा काम भइरहेकोले आगामी दुई वर्षभित्र नागरिकले नयाँ नगरको अनुभूति गर्न पाउने बताउनुभयो। स्वागतद्वार तथा आकाशे पुल निर्माणका लागि प्रदेश सरकारको ७० प्रतिशत, महानगरको २५ प्रतिशत र उद्योग सङ्गठनको पाँच प्रतिशत लगानी रहने छ। ह्याविट्याट–आशिषदीप जेभी भद्रपुर झापाले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ।

स्वागतद्वार र आकाशेपुल निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकारअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय विराटनगरले उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७९ असार १४ गते काम सकिनुपर्ने भए पनि भन्सार क्षेत्र भएकोले काम गर्न अवरोध भएपछि रोकिएको थियो।