• १६ चैत २०८०, शुक्रबार

'मातृ मृत्युदरमा कमी आएन'

blog

प्रकाशविक्रम शाह

धनगढी, चैत ७ गते । यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी कानुनी प्रावधानबारे जानकारी नहुँदा नेपालमा अपेक्षा गरिए अनुसार अझै मातृ मृत्यु दरमा कमी आउन सकेको छैन । धनगढीमा मंगलबार आयोजित यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी छलफलका गरिएको हो । 

जिल्ला स्वास्थ्य  कार्यालय, कैलालीका प्रजनन स्वास्थ्य फोकल पर्सन रमा गिरीले पर्याप्त चेतनामूलक कार्यक्रम सञ्चालन नहुँदा, अन्धविश्वास कायम रहँदा गर्भवतीहरू समयमै स्वास्थ्य संस्था नआउँदा, गर्भपतन सम्बन्धी कानुनी प्रावधान बारे जानकारी नहुँदा र नजिकै स्वास्थ्य संस्था नहुँदा मातृ मृत्यु दर घट्न नसकेको बताउनुभयो । 

उहाँले यसै कारण कैलालीमा यस वर्ष चार जना, २०७८-०८९ मा ९ जना र २०७७-०७८ मा २० जना गर्भवतीको मृत्यु भएको बताउनुभयो । यसबाहेक उहाँले चुरे र मोहन्याल जस्ता विकट पालिका हुनु  कर्मचारीको अनावश्यक सरुवा हुनुले पनि कतिपय स्वास्थ्य सेवा दिन कठिनाइ भएको पनि उल्लेख गर्नुभयो । 

आइपास नेपालका माधवी बज्राचार्यले २०६० देखि कानुनीरुपमा  गर्भपतन गर्न पाउने सुविधा हुँदा पनि त्यसबारे पर्याप्त जानकारी नहुनाले अनिश्चित गर्भधारणलाई असुरक्षित तरिकाले गर्भपतन गराउने कारण मातृ मृत्यु दरमा कमी आउन नसकेको बताउनुभयो ।

उहाँले गर्भपतन गर्ने मान्यता कुन संस्थाले पाएको छ गर्भपतन गराउने व्यक्तीले त्यो सम्बन्धी तामिल लिएको छ वा छैन, कति हप्तासम्मको गर्भपतन गराउन मिल्छ वा मिल्दैन, गर्भपतनको औषधि खाँदा कति मात्रा खाने बारे जानकारी नहुँदा पनि गर्भवतीको मृत्यु हुने गरेको विषयमा चर्चा गर्नुभयो ।

उहाँका अनुसार नेपालमा अहिले पनि सात प्रतिशत महिला गर्भपतनबाट मर्ने गरेका छन् । उहाँले सञ्चारकर्मीले गर्भपतन सम्बन्धी नेपालमा बनेका ऐन कानुनबारे कलम चलाउँदा पनि चेतना वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

यद्यपि कैलालीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । जिल्ला स्वास्थ्य  कार्यालयको तथ्याङ्क अनुसार २०७६-७७ मा एक हजार ९५१, २०७७-७८ मा दुई हजार ६२९ र २०७८-७९ मा पाँच हजार ५६७ ले सुरक्षित गर्भपतन गराएका छन् । ती मध्ये २०७६-७७ मा १८७, २०७७-७८ मा २१७ र २०७८-७९ मा ३६५ जना २० वर्ष मुनीकाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । 

प्रजनन स्वास्थ्य फोकल पर्सन गिरीका अनुसार कैलालीमा एक सय ७० स्वास्थ्य संस्था, ५५ वटा सुरक्षित गर्भपतन केन्द्र रहेपनि ४३ वटा सञ्चालनमा रहेका, ४६ वटा वर्थिङ सेन्टर, पाँच थरीका अस्थायी साधन पाउने सेवा केन्द्र ३६ र २३ वटा किशोर किशोरी मैत्री संस्था रहेको बताउनुभयो ।