कम्युनिस्ट आन्दोलनका छैसट्ठी वर्ष

Premal kumar khanalप्रेमलकुमार खनाल

मुलुकमा संगठित तवरले कम्युनिस्ट आन्दोलनको थालनी भएको ६६ वर्ष बितेको छ । विक्रम संवत् २००६ वैशाख १० गते (सन् १९४९ अप्रिल २२) का दिन भूमिगत तवरले भारतको कलकत्ताको श्यामबजार टोलमा रहेको एउटा घरमा पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ (दुर्गादेवी) सहित पाँच जनाले नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभयो ।
पार्टी स्थापनालगत्तै प्रकाशित पहिलो पर्चामा मजदुर, किसान र श्रमजीवी जनताको राज्य व्यवस्था स्थापना गर्ने, राणासँग सम्झौता होइन क्रान्ति गर्ने, सामन्ती शासन व्यवस्था उन्मूलन गर्दै अंग्रेज, अमेरिकी साम्राज्यवाद र भारतेली एकाधिकारवादी पुँजीवादको शोषण उत्पीडनबाट देशलाई मुक्त गर्दै नेपालमा नयाँ जनवाद स्थापना गर्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरिएको उल्लेख छ ।
पार्टी स्थापनाको चार महिनापछि २००६ भदौ ३० (१५ सेप्टेम्बर १९४९) मा घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी, पुँजीवादी आधिपत्यलाई पूरै खत्तम गर्ने, मजदुर वर्गको नेतृत्वमा मेहनतकस जनताको जनवादी राज्य स्थापना गर्ने, बालिग मताधिकारका आधारमा संविधान निर्माण गर्ने, सर्वसाधारण जनतालाई विचार, राजनीतिक पार्टी कार्यक्रम रोज्ने अधिकार सहित पूर्ण स्वतन्त्रता तथा प्रजातान्त्रिक अधिकार प्रत्याभूति गर्ने र नेपाली जनतालाई आधारभूत आर्थिक अधिकार प्रत्याभूत गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ ।
यसरी कम्युनिस्ट पार्टी स्थापनाका उल्लेखित उद्देश्य र कार्यक्रमिक प्रतिबद्धता सहित नेपालमा कम्युनिस्ट आन्दोलन थालनी भएको ६६ वर्ष बितिसकेको छ । साढे छ दशक लामो सामन्तवाद विरोधी राजनीतिक आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल कम्युनिस्ट आन्दोलनको विकासबाट मुलुकमा ऐतिहासिक महìवका उपलब्धि हासिल भएका छन् ।
कम्युनिस्ट स्थापना भएपछि १०४ वर्षसम्म एकछत्र राज गरेको जहाँनिया राणाशासनको वि.सं.२००७मै अन्त्य भई प्रजातन्त्रको अभ्युदय भयो । वि.सं.२००७ पछि शाही राजतन्त्रले ‘प्रजातन्त्र’ बहुदलीय व्यवस्था र निर्दलीय पञ्चायती व्यवस्थाका नाममा झण्डै ५६ वर्षसम्म सामन्तवादको प्रतिनिधित्व गर्दै हुकुमी शासन चलायो । अािखर २०६२÷०६३ को शान्तिपूर्ण जनक्रान्तिको आँधीबेहरीले सत्ताबाट राजतन्त्रलाई मिल्काएर गणतन्त्र स्थापना भएको छ । यस सन्दर्भमा नेपाली कम्युनिस्टहरूले छ दशकदेखि सञ्चालन गरेको सामन्तवाद विरोधी राजनीतिक आन्दोलनले सफलता प्राप्त गरेको छ ।
कम्युनिस्ट आन्दोलनको थालनीसँगै नेपाली समाजमा विकास भएको माक्र्सवादी चेतनाको लहरले जनसमुदायमा सामाजिक परिवर्तन प्रतिको चासो र सरोकार बढेर गएको छ । लाखौंलाख नेपाली कम्युनिस्ट पार्टी र जनसंगठनमा संगठित भएका छन् । पार्टी स्थापना यताका ६६ वर्षमा झण्डै दुईतिहाइ जनमत वामपन्थी शक्तिप्रति आकर्षित भएको छ । यसबीचमा पाँच पटकसम्म जनताको अभिमतबाट कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको छ । यसबाट सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने पुरातनवादी वामपन्थीहरूले राख्दै आएको जडसूत्रवादी मान्यता खण्डित हुनपुगेको छ ।
कम्युनिस्ट आन्दोलनको विकासका क्रममा नेपाली मौलिकतामा आधारित नेपाली क्रान्तिको जनवादले शान्तिपूर्ण जनआन्दोलनलाई दिशाबोध गरेको छ । जनताको बहुदलीय जनवाद (जबज) को प्रयोगबाट नै नेपालमा शान्तिपूर्ण तवरले युगान्तकारी परिवर्तन भएको यस सन्दर्भमा जनताको बहुदलीय जनवादको सिद्धान्त नेपाली क्रान्ति सम्पन्न गर्ने मौलिक सिद्धान्तको रूपमा विकास भएको छ ।
कम्युनिस्ट आन्दोलनको यस अवधिमा प्राप्त उल्लेखित उपलब्धिले पार्टी स्थापनाका क्रममा राखिएका राजनीतिक उद्देश्य हासिल गर्न एकहदसम्म सफलता प्राप्त भएको छ । सामन्तवाद विरोधी राजनीतिक आन्दोलनका क्रममा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना आफैंमा ऐतिहासिक महìवका उपलब्धि हुन् ।
कम्युनिस्ट आन्दोलनको ६६ वर्ष लामो आन्दोलन÷संघर्षको परिणामस्वरूप मुलुकमा पुँजीवादी राजनीतिक क्रान्ति सम्पन्न भएको छ । राजनीतिक हिसाबले सामन्तवादको अन्त्य भई मुलुक पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । अब आर्थिक–सामाजिक क्रान्ति गरेर मुलुकलाई समाजवादी बाटोमा अगाडि बढाउनु पर्ने युगीन अभिभारा आएको छ । यस सन्दर्भमा मुलुकमा क्रियाशील वामपन्थीहरूबीच सहकार्य र एकता कायम गरी राजनीतिक उपलब्धिलाई संस्थागत गर्न प्रगतिशील संविधान निर्माण गर्नु आवश्यक छ । तर एनेकपा (माओवादी) भित्र विद्यमान उग्रवामपन्थी र अवसरवादी सोच एवं चिन्तन नै अहिले कम्युनिस्ट आन्दोलनको एकता र विकासमा चुनौतीको रूपमा खडा भएको देखापर्दैछ ।
एमाओवादी (तत्कालीन नेकपा–चौम) ४० को दशकदेखि नै उग्रवामपन्थी र जडसूत्रवादी चिन्तन ग्रस्त बन्दै आएको हो । वि.सं.२०४६ मा नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चा सहितको शक्तिको संयुक्त आह्वानमा भएको पञ्चायत विरोधी आन्दोलनमा पनि सरिक नभएर संयुक्त जनआन्दोलन समितिको नामबाट अलग भयो । तत्कालीन शक्ति सन्तुलनको यथार्थमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भए पनि त्यसलाई उसले अस्वीकार ग¥यो । तर वि.सं.२०४८ मा संयुक्त जनमोर्चाको नामबाट प्रतिनिधिसभामा नौ सिटमा विजय हासिल गरेको थियो ।
विक्रम संवत् २०५१ मा जनताको अभिमतबाट नेपालको इतिहासमा पहिलो पटक नेकपा (एमाले) को नेतृत्वमा कम्युनिस्ट विचारधारा बोकेकाहरू सरकारमा पुग्न सफल भए । त्यो सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरी लोकप्रिय ढंगले राज्य सञ्चालन गरिरहेकै बखत एमाओवादी (तत्कालीन नेकपा माओवादी) ले सशस्त्र संघर्षको थालनी ग¥यो । करिब १७ हजार नेपालीले त्यो संघर्षका नाममा शहादत प्राप्त गर्नुप¥यो । एकातिर एउटा वामपन्थी दलले जनताको अभिमतबाट सरकारमा पुगेर लोकप्रिय ढंगले राज्य सञ्चालन गर्नु र अर्को वामपन्थी दलले चाहिं सशस्त्र संघर्ष सञ्चालन गर्न थाल्नु नेपालको कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महìव र आश्चर्यजनक घटनाको रूपमा रहेको छ ।
सशस्त्र संघर्षबाट सफलता हासिल नभएपछि बन्दुक बिसाएर २०६२÷०६३ मा सञ्चालित शान्तिपूर्ण आन्दोलनमा नेकपा (माओवादी) सहभागी हुन बाध्य भयो । नेपाली क्रान्ति सम्पन्न गर्न माक्र्सवाद–लेनीनवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्नेमा ‘माओवाद’ र ‘प्रचण्डपथ’ लाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्दै आएको एनेकपा (माओवादी) यतिखेर सशस्त्र संघर्ष कि शान्तिपूर्ण आन्दोलन कि जनविद्रोह भन्ने द्विविधाग्रस्त गतिविधिबाट अगाडि बढिरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना हुँदाका बखत नै संविधानसभाको माग अगाडि सारिएको हो तर एनेकपा (माओवादी) ले पहिलो संविधानसभामा सबैभन्दा बढी सिट प्राप्त गरेर सरकारको नेतृत्व गरेको बखत आफ्नै नेतृत्वमा संविधान जारी गर्नुको साटो संविधानसभा नै विघटन गर्नपुग्यो । अहिले दोस्रो संविधानसभा गठन भएको १७ महिना बितिसकेको छ तर संविधानसभाबाट संविधान जारी गर्न एनेकपा (माओवादी) ले अहिले पनि अर्घेल्याई गरिरहेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको छ दशक लामो विकासको क्रममा प्राप्त उपलब्धि ऐतिहासिक महìवका रहेका छन् । हजारौं वीर योद्धाको त्याग, बलिदान, जेल–नेल, निर्वासन, दुःख, कष्टका भोगाइबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने युगीन अभिभारा वामपन्थीहरूको काँधमा आएको छ । पार्टी स्थापनाका क्रममा लिएको लक्ष्य समाजवाद स्थापनातर्फ अगाडि बढ्न यतिखेर वामपन्थीहरूबीच सहकार्य र एकता आवश्यक देखिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना