• ७ वैशाख २०८१, शुक्रबार

नवलपुरका तीन क्याम्पसमा नेविसङ्घ विजयी

blog

मीना कँडेल

कावासोती, चैत ६ गते । पूर्वी नवलपरासीका तीन क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ  । दुई वटा क्याम्पसमा भने नेकपा एमाले निकट अनेरास्ववियुले जित हात पारेको हो ।

यस्तै, एकमा अखिल(क्रान्तिकारी)बाट विजयी भएका छन् । जिल्लाको कुमारवर्ती बहुमुखी क्याम्पस, कालिका विद्यापीठ, एसपिएम कलेज गैंडाकोटमा नेविसङ्घको प्यानल नै निर्विरोध भैसकेको छ भने कावासोतीको मध्यबिन्दु क्याम्पसमा अनेरास्ववियुका बागी उम्मेदवार सभापतिमा विजयी भएका छन् । 

यस्तै, अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर निर्वाचन परिणाम घोषणा गरिएको हो । कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले सत्ता गठबन्धन दलको विद्यार्थी प्यानल विजयी भएको छ । सभापतिमा नेविसङ्घका सुदीप चापागाईंले दुई सय २९ मत ल्याउँदा प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत प्राप्त गर्नुभयो । यहाँ नेविसङ्घ र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए । निर्वाचन समितिका अनुसार यहाँ विजयी टिमले दुई तिहाईभन्दा बढी मत ल्याएको छ ।

कावासोतीकै मध्यबिन्दु क्याम्पसमा अनेरास्ववियुका बागी उम्मेदवार सभापतिमा विजयी भएका छन् । केन्द्रीय अध्यक्षले कारवाही गरेका बागी उम्मेदवार केशव भुसाल स्ववियु सभापतिमा विजयी भएका हुन् । अन्य बाँकी पदमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । भुसालले सभापतिमा दुई सय ६४ मत प्राप्त गरे भने नेविसङ्घका खिमलाल कँडेलले दुई सय १५ र अनेरास्ववियुका आधिकारिक उम्मेदवार दशरथ सुवेदीले एक सय २३ मत प्राप्त गर्नुभयो । 

देवचुली १६ रजहरमा रहेको देवचुली कलेजको स्ववियु निर्वाचनको अध्यक्षमा लोकतान्त्रिक वाम विद्यार्थी गठबन्धनकी बेलिकुमारी बाचे मगर निर्वाचित हुनुभयो । बाचेले एक सय ३२ मत प्राप्त गरेर विजयी भएको देवचुली कलेजका स्ववियु निर्वाचन संयोजक भानुभक्त पौडेलले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुकी विद्या ढुङ्गानाले ९२ मत ल्याएर पराजित हुनुभएको हो ।

सचिवमा बाम गठबन्धनकी सञ्जना सोडारीले एक सय १५ मत र कोषाध्यक्षमा बाम गठबन्धनकी निरमाया गाहा मगरले एक सय २७ मत ल्याएर विजयी हुनुभएको छ ।

नवजागरण बहुमुखी क्याम्पसमा स्थगित

यस्तै, विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएको चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । नेविसङ्घले नयाँ विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै एमाले निकट अखिलले क्याम्पसमा तालाबन्दी गरेकाले निर्वाचन हुन नसकेको हो । जनमुखी आदर्श बहुमुखी क्याम्पसमा भने चैत १० गते निर्वाचन हुनेछ ।