• ४ वैशाख २०८१, मङ्गलबार

पाँच पटक म्याद थप्दा पनि सडक निर्माण अपूर्ण

blog

सांकेतिक तस्बिर

लक्ष्मण पौडेल

भैरहवा, फागुन ३० गते । रुपन्देहीको सिद्धार्थनगर भैरहवाका १९ वटा सडक ६ वर्षदेखि सम्पन्न हुन सकेका छैनन् । संघीय आयोजना कार्यान्वयन एकाइ, भैरहवा अन्तर्गत सघन शहरी विकास कार्यक्रममा सडक विस्तार तथा स्तरोन्नतिका लागि छनोट भएका ती सडक २०७४ असार २९ गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएका थिए।

२०७५ पुस २८ गते सम्पन्न गर्ने गरी निर्माण कम्पनी पप्पु कोशी एण्ड न्यौपाने शिवशक्ति जेभीले सम्झौता गरे पनि अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । ५५ करोड ७१ लाख लागत अनुमानमा ठेक्का भएको उक्त सडक ३३ करोड ३१ लाखमा सम्पन्न गर्ने जिम्मा निर्माण कम्पनीले लिएको थियो ।

१७ प्रतिशत कम मूल्यमा ठेक्का लिएको कम्पनीले अहिलेसम्म ८४ प्रतिशत भौतिक प्रगति गरेको छ भने सोही अनुपातमा करिब ८५ प्रतिशत रकम भुक्तानी लिइसकेको छ ।

कालोपत्रे र ढलानसहित निर्माण गर्नुपर्ने १२ किलोमिटर ३४ मिटरको सडक मध्ये अहिलेसम्म मेउडिहवादेखि फुलपुरको सडक क्षेत्र साइट क्लियर नभएर रोकिएको छ । नगरभित्रका विभिन्न १० वटा (२३ सय ४८ मिटर) सडक आरसिसी पद्धतिबाट र नौ वटा (करिव १० किलोमिटर) कालोपत्रे गर्नु पर्नेमा आरसिसी मध्येका सडक निर्माण भए पनि पूर्णरुपमा सम्पन्न भएको छैन ।

त्यस्तै, नौ वटा कालोपत्रेका मध्ये तीनवटाको सडक पिच भएको, चार वटा सडकमा बेससम्मको काम भएको र मेउडिहवादेखि सिसवाको सडक अधुरो निर्माण भएको संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय भैरहवाले जानकारी दिएको छ ।

निर्माण सम्पन्न गर्न नसकेको भन्दै निर्माण कम्पनीले पाँचपटक म्याद थप समेत गरिसकेको छ । पहिलो पटक बन्द हडताल र निर्माण सामग्रीको अभाव देखाउँदै १५ महिना २०७६ चैत २८ गतेसम्मका लागि म्याद थप गरेको थियो ।

दोस्रो पटक साइट उपलब्धमा ढिलाई भएको भन्दै नौ महिना २०७७ पुस २४ गते सम्मको लागि, तेस्रो पटक पहिलो लकडाउनलगायतका कारण देखाउँदै ६ महिना २०७८ असार २४ गतेसम्मका लागि, चौथो पटक दोस्रो लकडाउन भन्दै नाै महिना २०७८ चैत १ गतेसम्मको लागि र पाँचौ पटक निर्माण सामग्रीको मूल्य अभिवृद्धिलगायतका कारण देखाउँदै २०७९ पुस मसान्तसम्म म्याद थप पाए पनि म्याद सकिएको दुई महिना बित्दासम्म निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन ।

पाँच पटक म्याद थप पाइसकेको निर्माण कम्पनीले छैटाैं पटक म्याद थपका लागि पनि निवेदन दिएको छ । १८ महिनामा सम्पन्न हुनुपर्ने सडक निर्माणको लागि थप ४८ महिना म्याद थप हुँदा पनि सडक पूर्णरुपमा सम्पन्न भएको छैन । चैत मसान्तसम्म तीन महिना म्याद थप मागेको कम्पनीको कारण भने अहिले भुक्तानी नपाएको, कार्यक्रम नभएको जनाएको छ ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख विदुर खड्काका अनुसार निर्माण कम्पनीले प्रतिदिन हर्जानासहित ती सडक निर्माण सम्पन्न गर्नका लागि २०० दिनसम्मका लागि म्याद थप्न पाउने व्यवस्था छ ।

“निर्माण कम्पनीसँग अब योजना सम्पन्न गर्नुको विकल्प नै छैन, निर्माण सम्पन्न गर्नको लागि अबको अन्तिम विकल्प नै शून्य दशमलव शून्य पाँच प्रतिशत हर्जानासहित म्याद थप गर्न सक्छ”– कार्यालय प्रमुख खड्काले भन्नुभयो ।

निर्माण कम्पनी शिवशक्तिका प्रोजेक्ट म्यानेजर लक्ष्मी पाठकले करिब ८७ प्रतिशत काम सम्पन्न गरिसकेको र अबको एक महिनामा काम सम्पन्न हुने गरी निर्माणको काम भइरहेको बताउनुभयो ।

टेन्डर रकम अनुसार भुक्तानी नभई केही समय विवाद भएकाले पनि निर्माण काममा ढिलाइ हुँदै आएको र साइट क्लियर नहुँदा पनि केही ढिलाइ भएको उहाँले बताउनुभयो ।