• १३ वैशाख २०८१, बिहिबार

इतिहासको पुनर्लेखनबारे जोड

blog

काठमाडौं, फागुन ३० गते । इतिहासशिरोमणि बाबुराम आचार्यको १३६ औँ जन्मजयन्तीका  अवसरमा बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान र बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको छ ।

यस अवसरमा प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले इतिहासको पुनर्लेखनबारे जोड दिँदै  इतिहासशिरोमणि बाबुराम आचार्यको योगदानबारे चर्चा गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा इतिहासशिरोमणि बाबुराम आचार्यले समग्र नेपालको इतिहास लेखनका साथै साहित्य र समालोचनालाई समेत प्रवृत्तिगत रूपले केलाउन सफल रहेको धारणा राख्नुभयो । 

यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति प्राडा जगमान गुरुङले बाबुराम आचार्यबाट इतिहास लेखनको स्वाभिमान सिक्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान प्रज्ञा सदस्य दिनेशराज पन्तले इतिहास लेखनका क्रममा बाबुराम आचार्यले कहिल्यै पनि शासकसँग नझुकेको चर्चा गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य , सामाजिक शास्त्र विभाग प्रमुख तथा सभाध्यक्ष  डा. कौशिला रिसालले  इतिहास र समाजशास्त्रको अध्ययन र विश्लेषणबारे ध्यानाकर्षण भएको बताउनुभयो ।

इतिहासविद् प्राडा सुरेन्द्र केसीले राणाकालीन कालो इतिहासलाई बाबुराम आचार्यले उजागर गरेर युगीन योगदान पुर्याएको बारे चर्चा गर्नुभयो । अर्का  इतिहासविद्  प्राड त्रिरत्न मानन्धरले बाबुराम आचार्यले इतिहास लेखनमा अनिवार्य राख्नुपर्ने पाद टिप्पणी  र वि. सं. नराखी इ.सं.को प्रयोग गरेकोमा  आलोचना हुने गरेको बताउँदै भीमसेन थापामाथि पूर्वाग्रह राखेको बारे प्रष्ट पार्नुभयो ।साथै पूर्व राजदूत राजेश्वर आचार्यले  बाबुराम आाचार्यको इतिहास लेखनमा प्रेरणादायी भूमिका निर्वाह गरेको बताउनुभयो ।

प्रस्तुत प्रवचन कार्यक्रमलाई धन्यवाद व्यक्त गर्दै  इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले इतिहासको क्षेत्रमा बाबुरामले पुर्याएको  योगदानबारे खोज अनुसन्धान हुनुपर्ने विषयमा  जोड दिनुभयो ।कार्यक्रमको सञ्चालन भने नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले गर्नुभयो ।