• ८ वैशाख २०८१, शनिबार

सबैले विद्युतीय सवारी साधन प्रयोग गरौँ : कुलमान घिसिङ

blog

काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन २९ गते । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको हो ।

उहाँले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताउनुभयो । प्रबन्ध निर्देशक घिसिङले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने औँल्याउनुभयो ।

त्यस्तै, विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै प्रबन्ध निर्देशक घिसिङले  विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताउनुभयो । उहाँले वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको जानकारी दिनुभयो ।

पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०÷१२ रुपियाँ पर्छ र गाडीहरूमा प्रति किलोमिटर खर्च चाहिँ एक रुपियाँभन्दा कम छ विद्युतीय सवारीमा । ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जबकि पेट्रोल, डिजेलको १५÷२० रुपियाँ पर्छ । मर्मत खर्च पनि एकदमै कम छ, किनभने इन्जिन हुँदैन । सञ्चालन खर्च नि कम छ, उपभोक्तालाई फाइदा छ ।,’’ प्रबन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘‘पेट्रोल, डिजेलको गाडिले जुन प्रदूषण आइरहेको छ, काठमाडौं लगायत विभिन्न सहरहरूमा । विद्युतीय सवारी साधन चल्दाखेरी त्यो प्रदूषण पनि हट्छ । वातावरणको हिसाबले, स्वास्थ्य सुरक्षाको हिसाबले उपयुक्त सवारी साधन भनेको विद्युतीय सवारी साधन नै हो । यसले नेपाललाई क्लिन र इनर्जी, कार्बन न्युट्रलतिर लानलाई ठूलो सहयोग गर्नेछ । आगामी दिनमा सबैले विद्युतीय सवारी साधन प्रयोग गरौँ ।’’

उहाँले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताउनुभयो ।