• १५ चैत २०८०, बिहिबार

चुरे अभियान्ता तथा भूमिहीन सुकुम्वासीद्वारा मन्त्रालयमा धर्ना

blog

मन्त्रालय बाहिर धर्नामा बसेका अन्दोलनकारी। तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन २८ गते। चुरे तथा वन जङ्गल संरक्षण अभियानका अभियान्ता तथा भूमिहीन सुकुम्वासीले मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अगाडि धर्ना दिएका छन्। 

आफ्नो मागप्रति प्रदेश सरकारले कुनै चासो नदेखाएको भन्दै विगत १७ दिनदेखि मधेशको राजधानी जनकपुरधामस्थित जनक चोकमा शान्तिपूर्ण धर्नामा बसेका चुरे अभियान्ता तथा भूमिहीन सुकुम्वासी आइतबार धर्नाका लागि मधेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अगाडि पुगेका हुन्। 

भूमिहीन तथा सुकुम्वासीको आवासको हक तथा मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने मागसहित धर्ना बसेको सुकुम्वासीको भनाइ छ। 

आन्दोलनकारीले आफ्नो मागको सम्बोधन लिखित रूपमा हुनुपर्ने बताएका छन्। यता मन्त्री वसन्त कुमार कुशवाहाले प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित निकाय समक्ष सुकुम्वासी सम्बन्धी समस्या बारे चर्चा गर्ने बताउनुभएको छ।