• १६ चैत २०८०, शुक्रबार

आयातसँगै निर्यात पनि घट्यो

blog

सामान ढुवानी गरिँदै । फाइल तस्बिर

काठमाडौं, फागुन २८ गते । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो ।

राष्ट्र बैङ्कका अनुसार सात महिनामा रु ९३ अर्ब ४३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात गरेको । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव ३ प्रतिशतले बढी हो । सो अवधिमा भारत र चीनतर्फको निर्यातमा कमी आउँदा अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । भारतमा ३७ दशमलव ७ प्रतिशत, चीनमा १३ दशमलव ४ प्रतिशतले कमी आउँदा अन्य देशको निर्यातमा ८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

नेपालबाट जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

सात महिनाको अवधिमा नेपालले रु नौ खर्ब १८ अर्ब १७ करोड बराबरको विदेशी वस्तु आयात छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२।८ प्रतिशतले बढेको भए पनि चालु आवको सोही अवधिको तुलनामा १९ दशमलव ९ प्रतिशतले आयात घटेको हो ।

सो अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

सात महिनामा भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ, भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

सवा आठ खर्ब व्यापार घाटा

आयात निर्यात दुवै घट्दा नेपालको व्यापार घाटा पनि घटेको छ । चालु आवको सात महिनाको अवधिमा नेपालको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा रु आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु ७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक सय २८ अर्ब १७ करोड बराबरको भएको थियो । रासस