• ८ वैशाख २०८१, शनिबार

कोशी प्रदेश बन्दले जनजीवन प्रभावित

blog

प्रेम अधिकारी 

पशुपतिनगर, फागुन २८ गते । कोशी प्रदेश नामकरणको विरोधमा भएको बन्दले इलामसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ । प्रदेश १ को नामकरण ‘कोशी’ राखिएको भन्दै ‘लिम्बुवान किराँत’ सङ्घर्ष समितिले प्रदेशभर गरिएको बन्दका कारण लामो तथा छोटो दूरीका यातायत सञ्चालन नहुँदा जनजीवन प्रभावित भएको हो। 

बन्दकर्ताले कोशी प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किराँत’ पुनः नामकरण गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । बन्दका कारण मेची राजमार्ग भएर झापा, इलाम, पाँचथर र ताप्लेजुङ सडक खण्डमा चल्ने यातायतका साधन सञ्चालन हुन सकेका छैनन् । बन्दका कारण राजमार्गमा यात्रु अलपत्र परेका छन् । 

बन्दको आंशिक प्रभाव बजार पसलमा परेको छ । आंशिक रुपमा बजार पसल खुले पनि पूर्णरुपमा खुल्न सकेका छैनन् । बन्दकै बीचमा पनि शैक्षिक संस्थामा पठनपाठन सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका डिएस्पी जितेन्द्र बस्नेतले बन्दकर्ताले ठाउँठाउँमा सवारी सञ्चालनमा अवरोध गरे पनि अहिलेसम्म कुनै अप्रिय घटना भने नभएको जानकारी दिनुभयो । पुन नामकरण सङ्घर्ष समितिका अध्यक्ष डेकेन्द्रसिंह थेगिमले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने जानकारी दिनुभयो । 

‘लिम्बुवान किराँत’ संयुक्त सङ्घर्ष समितिले बन्दसँगै स्थानीय पालिका र वडा कार्यालयमा तालाबन्दी गर्ने काम गर्दै आएको छ । आन्दोलनकारीले चैत ५ गते प्रदेश राजधानी विराटनगरमा जनप्रदर्शन गर्ने जनाएका छन् । उनीहरुले कोशी प्रदेश लेखिएको कार्यालयका बोर्डसमेत हटाएर ‘लिम्बुवान किराँत’ लेख्न थालेका छन् । बन्दकर्ताले इलामको माङसेबुङ गाउँपालिकासहित वडा कार्यालयमा यसअघि नै तालाबन्दी गरेका छन् ।