• ८ वैशाख २०८१, शनिबार

अलौकिक खप्तड

blog

- बीपी बडाल

 नौजवान मेडिकल डाक्टर गम्भीर बिरामी बालकलाई बचाउन दिनरात खट्नुहुन्छ । आफूले जानेका सबै नुस्खा प्रयोग गर्नु हुन्छ तर बालकमा कुनै सुधार हुँदैन । नौजवान डाक्टर नरमाइलो मानेर बालकको छेउमा उभिरहनुहुन्छ । एक जना नेपालतिरका साधु अकस्मात आइपुग्छन् । साधुले बिरामी बालकलाई मायालु पाराले सुम्सुम्याउँछन् । केही मन्त्र पढ्छन्– ‘फु फु चट्’ भन्दै आफूसँग भएको खरानीको टीका लगाइदिन्छन् । केहीबेरमै बालक खेल्न थाल्छ । एक किसिमको चमत्कार हुन्छ । विज्ञानमाथि अध्यात्मले विजय पाउँछ । विज्ञानको स्रोत पनि त अध्यात्म नै हो । 

कश्मीरका सम्भ्रान्त दुर्गा पण्डितका सन्तान, बेलायतबाट डाक्टर उपाधि पाएर कलकत्ता मेडिकल कलेजमा कार्यरत त्यो बेलाका विश्वप्रसिद्ध नौजवान डाक्टरको मनमा चिसो पस्छ । आफ्नो ज्ञान, शिक्षा र पेसादेखि दिक्क लाग्छ । कसैगरी चित्त बुझ्दैन । अनि यी सबै छोडेर उहाँ बनारसतिर लाग्नुहुन्छ । 

नौजवान डाक्टरलाई बालकको उपचार गर्ने त्यो नेपाली साधुसँग भएको ज्ञान प्राप्त गर्ने भोक जाग्छ । अनि इलाम, काठमाडौँ, कालिञ्चोक, जुम्ला, अछाम, बाजुरा, बझाङ हुँदै डोटीको शिर खेचराद्री पर्वतमा तपस्या गर्न पुग्नुहुन्छ । पूर्वीय दर्शन, साहित्य र ज्ञानको मार्ग समात्नु हुन्छ र हामीमाझ उहाँ १००८ स्वामी, सच्चिदानन्द सरस्वती र खप्तडबाबाको नामले चिनिनुहुन्छ । 

खप्तडबाबाले ५० वर्ष खप्तड क्षेत्रमा तपस्या गर्नुभयो । विचार विज्ञान, धर्म विज्ञानजस्ता धेरै पुस्तक लेख्नुभयो । विज्ञान र अध्यात्मको संयुक्त प्रकाशको ज्योति नै खप्तडबाबाको परिचय हो । उहाँ अध्यात्मलाई विज्ञानको कसीमा राखेर दूधको दूध, पानीको पानी छुट्याउने सशक्त विद्वान्, त्यागी योगी हुनुहुन्छ । 

भूमण्डलीकरणको प्रभावले पश्चिमी शिक्षाप्रति हाम्रा युवा आकर्षित छन् । शिक्षा मात्र होइन, पश्चिमी समाजको रहनसहन र संस्कृतिप्रति पनि आकर्षित हुँदै गएका छन् । भौतिक विकासको उद्गमस्थल पनि हो पश्चिम । भौतिकवादी सोच वैज्ञानिक सोच हो तर आध्यात्मिक सोच अनुभवी ज्ञान हो । ज्ञान, चिन्तन, अनुभवबिनाको विज्ञान दुर्घटना हो । त्यसैले विज्ञान र अध्यात्मको सुन्दर सेतु नै खप्तडबाबाको ‘विचार विज्ञान’ हो । जसले एकचोटि ‘विचार विज्ञान’ पढ्छ, ऊ जीवनभर खप्तडबाबाको अनुयायी बन्छ । यो पुस्तकले पाठकलाई शतप्रतिशत सकारात्मक बनाइदिन्छ । 

यसैगरी उहाँँको अन्य पुस्तकमा ‘स्वास्थ्य विज्ञान’, ‘धर्म विज्ञान (१–४ भाग)’, ‘धर्म विज्ञान सार सङ्क्षेप’, ‘म र मेरो कर्तव्य’, ‘नारी धर्म’ ‘पुरुष धर्म’ ‘योग विज्ञान’, ‘आत्मज्ञान’, ‘आरोग्य विज्ञान’, ‘वेदान्त विज्ञान’ साथै केही अङ्ग्रेजी पुस्तक पनि छन् । उहाँको पहलमा २०४२ सालमा खप्तड राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । यसका लागि तत्कालीन राजा वीरेन्द्रसँग उहाँले अनुरोध गर्नुभएको थियो । प्रा. शिवगोपाल रिसालले त खप्तडबाबाको स्मृतिमा खप्तड महाकाव्य नै लेख्नुभएको छ । १९३७ सालमा कश्मीरमा जन्मनुभएका खप्तडबाबाको २०५३ साल वैशाख २७ गते ११६ वर्षको उमेरमा देहावसान भएको थियो ।

बेलायतबाट डाक्टर उपाधि पाएर कलकत्ता मेडिकल कलेजमा कार्यरत त्यो बेलाका विश्वप्रसिद्ध नौजवान डाक्टरको मनमा चिसो पस्छ । आफ्नो ज्ञान, शिक्षा र पेसादेखि दिक्क लाग्छ । कसैगरी चित्त बुझ्दैन । अनि यी सबै छोडेर उहाँ बनारसतिर लाग्नुहुन्छ ।  

विचार अनुभव गर्न सकिन्छ । एकैछिन आँखा बन्द गर्नुहोस् । दुईवटा आँखीभौँको बीचमा सेतो ताराजस्तो चम्किलो वस्तु खोज्नुहोस् । प्रयत्न गर्नुहोस् । अवश्य देखिन्छ । त्यसको छाया हुँदैन । बिस्तारै त्यो बढेको हुन्छ । पवित्र विचार गर्नुहोस् । त्यसले बाहिर ज्योति फाल्न थाल्छ । त्यो ज्योति परेको बस्तुमा छाया देखिँदैन अर्थात् त्यो वस्तुको सबै नकारात्मक गुण त्यो ज्योतिले हटाइदिन्छ । त्यो वस्तुप्रति माया, ममता, करुणा र खुसी वृद्धि हुन्छ । त्यो ज्योतिले तपाईंलाई र त्यो वस्तु दुवैलाई एकाकार गराइदिन्छ । हात र मुखको जस्तो सम्बन्ध हुन्छ ।

सबै नकरात्मकतालाई त्यो ज्योतिले नष्ट पारिदिन्छ । एक घण्टा नियमित ध्यान गर्नुपर्छ । बिस्तारै बिस्तारै त्यो प्रकाश जाज्वल्यमान हुन्छ । साबिक भोजन, विचार, व्यवहार, कर्म, भक्ति, ज्ञान, प्रेम र करुणा अनिवार्य छ । शुद्ध विचारको शक्तिले सब चिज सम्भव हुन्छ । शतप्रतिशत सकारात्मक सोच नै विचार विज्ञान् हो । यो नै खप्तड दर्शन हो । सकारात्मक सोचको विकासले अर्थात् आफूसँग भएको आन्तरिक क्षमताको विकासले सकारात्मकताको प्रभावले सम्पूर्णता प्राप्त हुन्छ ।

राम्रो सोच्ने, राम्रो गर्ने, राम्रो खाने, राम्रो बोल्ने आदि राम्रा कर्मको परिणाम राम्रै हुन्छ । तुरुन्तै प्रभाव देखिन्छ । नकारात्मक टिप्पणी गर्ने, आलोचना गर्ने, गुनासो गर्ने, दुःखी हुने व्यक्तिको सङ्गत कम गर्दै जानुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कर्म आनन्दसँग निरन्तर गर्नुपर्छ । त्यसैले विचारको सकारात्मक परिणामको विज्ञान नै खप्तडबाबाको प्रसिद्ध पुस्तक विचार विज्ञान हो । 

के छ खप्तडमा ?

खप्तड तपोभूमि हो । यहाँ भ्रमण गर्दा अलौकिक आनन्द प्राप्त हुन्छ । त्रिवेणीमा स्नान गर्न, सुन्दर ठूलाठूला बाइस पाटन र ३० प्रकारका गुराँससँग रमाउन पाइन्छ । पुराणमा उल्लिखित खेचराद्री (देवताहरू खेल्ने) क्षेत्र यही हो । जब मानवमा सकारात्मकता आउँछ, ऊ देवता बन्ने यात्रामा हुन्छ । युवा सकारात्मक हुनैपर्छ । सकारात्मक युवा नै देवताको प्रारम्भिक स्वरूप हो । त्यो सकारात्मक सोचको विकासलाई मूर्तरूप दिन जीवनमा एकचोटि खप्तड भ्रमण गर्नैपर्छ । सोचेको पुग्छ भनिन्छ तर सोचविचार विज्ञानमा आधारित हुनुपर्छ । खप्तड यात्रा युवाको पहिलो रोजाइ बन्नुपर्छ र बन्दै आएको पनि छ ।


बाबाकुटी, त्रिवेणी, सहस्रलिङ्ग र खेचर दह छुटाउन नै नहुने यहाँका स्वर्गीय स्थल हुन् । स्पष्ट रूपमा केदारढुङ्गा, खप्तड दह (खापर मस्टोको खेस्चारदरी), खप्तडबाबाको कुटी, गणेशस्थान, घोडादाउन पाटन, छिन्तेढुङ्गा, जेठी बहुरानी ढुङ्गा, डाँफेकोट (खप्तडी बस्नेत थापा र खड्काको उत्पत्ति क्षेत्र), नागढुङ्गा, नाचन्थली, बलेमेला पाटन, भलाउने पाटन, माइकास्थान, शिव मन्दिर, सहस्रलिङ्ग, सीतापाइला पुग्नैपर्ने स्थान हुन् । 

कसरी जाने ? 

नेपालको सुन्दर सुदूरपश्चिमको केन्द्रबिन्दुका रूपमा रहेको छ, खप्तड क्षेत्र । शीतल पहाडी शृङ्खला रहेको यो क्षेत्रमा धेरैतिरबाट जान सकिन्छ । अछाम, बाजुरा, बझाङ र डोटी जिल्लाको शिर मानिने खेचराद्री पर्वत नै खप्तड क्षेत्र हो । यो क्षेत्र समुद्री सतहदेखि तीन हजार मिटर माथि रहेको छ । चारवटै जिल्ला (अछाम, बाजुरा, बझाङ र डोटी)बाट खप्तड जान सकिन्छ । डोटीको झिङ्ग्राना वा बझाङको लुखाडाबाट जान सजिलो मानिन्छ । बाजुरा र अछामबाट पनि सजिलै पुगिन्छ । कैलालीको अत्तरीया अथवा धनगढी पुगेपछि लगभग सात दिनको पैदलयात्रा त झन् अत्यन्तै रोमाञ्चक र अविस्मरणीय हुन्छ । गुराँस फुल्दा त यो स्थान स्वर्ग नै जस्तो हुन्छ । यो स्थल शान्त र पवित्र छ । हजारौँ प्रकृतिका फूल, वनस्पति, चराचुरुङ्गी, जङ्गली जनावर यहाँ पाइन्छन् । यात्रामा जाँदा आवश्यक पर्ने न्यानो कपडा, ड्राइ फ्रुट्स, प्राथमिक उपचारका लागि आवश्यक औषधि, पानी, चकलेट, बिस्कुट, मोबाइल चार्जिङ ब्याकअप बोक्नु बुद्धिमानी हुन्छ । 

अन्त्यमा 

खप्तड क्षेत्रमा विकास आवश्यक छ तर विकाससँगै विनाश पनि भित्रिन सक्छ ।  खप्तडबाबाको विचार विज्ञानको दर्शनबाट मात्रै खप्तडको पर्यटन विकास सम्भव छ । खप्तडमा चिकित्सा पर्यटन सम्भव छ । विज्ञान र आध्यात्मको सम्बन्ध सेतुअन्तर्गत वास्तुशास्त्र, इन्द्रिय चिन्तन र पुरुषार्थले अथवा पुरुषार्थका लागि दिगो सामाजिक (धर्म), आर्थिक (अर्थ), भौतिक (काम) र आध्यात्मिक (मोक्ष) विकास, खप्तड पर्यटन विकासको मूल दर्शन हुनुपर्दछ । 

पर्यटन विकासका लागि वातावरणीय अध्ययनका आधारमा माथिका चारवटै जिल्लाबाट केबलकार निर्माण गर्न सकिन्छ तर मोटर बाटो पु¥याउनु हुँदैन । खप्तडबाबाको चिकित्सा प्रणाली, खप्तड ज्ञान केन्द्र, घोडा दाउना खेल र ट्रेकिङ रुट आदिको वैज्ञानिक रूपमा विकास गरेर यस क्षेत्रको पर्यटन विकास गर्न सकिन्छ । वास्तवमै यदि स्वर्ग हुन्छ भने सानो स्वर्गको टुक्रा खप्तड क्षेत्र नै हो । यति सुन्दर, यति पवित्र, यति स्वच्छ खप्तड पुगेपछि मुक्ति नै प्राप्त हुन्छ । त्यसैले युवा एकचोटि खप्तड जानैपर्छ । खप्तडमा चमत्कार सम्भव छ । सोचेको पुग्छ ।