• ४ वैशाख २०८१, मङ्गलबार

दशरथचन्दको आँगनमा

blog

गत असारमा कामविशेषले केही दिन गोठलापानी, बैतडी जानुपर्ने काम आइप¥यो । त्यसो त यसअघि पनि २०७४ सालमा डडेल्धुरा हुँदै बैतडीको केही दिनको बसाइपछि गोकुलेश्वर, मालिकार्जुन दर्शन गरी दार्चुलासम्म गएको थिएँ । यो पटक परिवारका सदस्यसहित बैतडी गएको थिएँ । हामी धनगढीसम्म हवाईजहाजमा र यसपछि जिपबाट त्यसतर्पm लाग्यौँ । यस पटकको ड्राइभर रमाइलो खालको प¥यो, त्यसो भएर बाटो सजिलै अनि रमाइलो तरिकाले कटाउन पाइयो ।  धनगढीदेखि १८ किमिको दूरीमा अत्तरिया चौबाटो पुगेपछि गोदावरीतर्पm लाग्यौँ । गोदावरी सुन्दर सुदूरपश्चिमको प्रस्तावित प्रदेश केन्द्र पनि हो । त्यहाँको पार्कमा केही समय विरचण गरेपछि सुदूरपश्चिमका अलि अप्ठ्यारा लेकमध्येको एक भासुको लेक कटेर सहजपुर पुग्नै लाग्दा सल्लेरी वनको आनन्द लिन पाइयो । बुडर पुगेपछि बिहानको खाना खायौँ । बुडरबाट महाकाली किनारतर्पmको जोगबुढा जाने बाटो छुट्टिने रहेछ । त्यसपछि बाटोभरि ठाउँठाउँमा गुराँसका रुख हेर्दै यात्रालाई अगाडि बढायौँ । यस क्रममा डडेल्धुराको बजार हुँदै उग्रताराको दर्शन गर्न पुग्यौँ ।

उग्रतारा भगवती शक्तिशाली देवी शिलाका रूपमा उत्पत्ति भएको मानिन्छ । यिनको शिलालाई गर्भगृहमा स्थापित गरिएको छ । पुजारी (क्षत्रीय) र तिनका चार जना सहायक पुजारी (ब्राह्मण)बाहेककाले छुन पाइँदैन । इष्टदेवी, कुलदेवी, आराध्यदेवी नामले कहलिएका उग्रतारा डोटी क्षेत्रका सातवटा महìवको पीठमध्ये एक एवं सात भगवतीमध्ये एक हुन् । प्राचीन समयमा बैतडीतिरबाट कुनै व्यक्तिविशेषले बोकेर ल्याएको सामग्रीमा बसेर यी देवी यहाँ आएको विश्वास गरिएको छ । 

प्राकृतिक दृृष्टिले सुन्दर यस ठाउँमा पुगेपछि एउटा ढुङ्गामा आपूmलाई समाहित गरी यहीँ बस्ने यी देवीले निधो गरिन् । समयक्रममा एक कृषकले हलो जोत्ने क्रममा जमिनमुनिको ढुङ्गामा फाली ठोक्किएपछि रगतको भुल्को बग्न थालेको र आपूmसँगै ल्याएको खाजाले मात्र रगतको भुल्का रोकिएको किंवदन्ती छ । ठूलो बजार लाग्ने, धामी नाच हुने, देउरो नचाइने भएकाले उग्रताराको जाँत (जात्रा) यस भेगको सबैभन्दा ठूलो जाँत मानिन्छ । जाँतको अवसरमा विभिन्न चइत, धमारी, भोलाउलो, ढुस्को, डेउडा गाउनुका साथै पूजाका विभिन्न अवसरमा पाग गाउने चलन पनि रहेछ ।

त्यसपछि खोड्पे हुँदै बैतडीतर्पm लाग्यौँ । बैतडीकै पाटन हुँदै गोठलापानी पुग्दा धर्तीमा साँझ खस्नै लागेको थियो । बाटोमा पर्ने सतबाँझबाट दार्चुला जाने बाटो छुटिन्छ । यसरी धनगढीदेखिको २२२ किमि लामो यात्रा तय गरेका कारण थकित भएकाले हामीले आराम ग¥यौँ । भोलिपल्टबाट प्रत्येक दिन आफ्नो व्यावसायिक जिम्मेवारीसँगै साँझको समय भने बैतडीको सदरमुकाम गोठलापानी वरिपरिका रमणीय, धार्मिक एवं ऐतिहासिक ठाउँहरूको भ्रमण गर्दै बितायौँ । पहिलो साँझ हामी जगन्नाथतिर गयौँ । 

सदरमुकामका सरकारी कार्यालयहरू रहेको अलि अग्लो स्थानमा गढीजस्तो ठाउँमा जगन्नाथको सानो मन्दिर रहेछ । यहाँ थुप्रै घन्ट चढाइने रहेछ । किन हो सैनिक परिसरभित्र भएर हो कि उपल्लो दर्जाका सैनिकहरूले बढीजसो घन्ट चढाएको देखियो । यसमध्यै सबैभन्दा पुरानो वि.सं. १९९२ को रहेछ । यसैबाट मन्दिर पनि निकै पुरानो रहेछ भन्ने कुरा बुझिन्छ ।

उक्त मन्दिरको दर्शनपछि त्यसैको दक्षिण पश्चिमतिर रहेको टुँडिखेल अर्थात् फराक मैदानमा घुम्न गयौँ । साँझ हुनै लागेको भएर पश्चिम क्षितिज राताम्य भइसकेको थियो । त्यसलाई पृष्ठभूमि बनाएर त्यहाँका केही युवा अनि बालक क्रिकेट खेल्दै गरेको दृश्य कम चित्ताकर्षक थिएन ।  भोलिपल्टको दिनभरिको कामपछि साँझतिर सम्भवतः नेपालको पश्चिमी पुछारमा रहेको त्रिपुरासुन्दरीको दर्शन गर्न गयौँ । त्रिपुरासुन्दरी भगवतीको मन्दिर बैतडीको दशरथ चन्द  नगरपालिकाको मुख्य बजार गोठलापानीदेखि करिब तीन किमि दक्षिण–पश्चिम दिशामा अवस्थित छ । दक्षिणाभिमुख पर्वतमालामा अवस्थित यो मन्दिर समुद्री सतहदेखि तीन हजार आठ सय फिटको उचाइमा रहेको छ । 

त्रिपुरासुन्दरीको उत्पत्ति प्रादुर्भाव कसरी भयो भन्ने किंवदन्तीअनुसार दक्षप्रजापतिबाट गरिएको अपमान सहन नसकेर सतीदेवीले यज्ञकुण्डमा देहत्याग गरेपछि भगवान् शिव उनको मृत शरीर बोकेर उत्तराखण्डका अनेक उच्च पर्वतहरूमा यताउति भौँतारिने क्रममा सतीदेवीका अङ्गहरू पतन हुँदै जान थाले । उनका अङ्गहरू जहाँ जहाँ पतन भयो, त्यहीँ शक्तिपीठहरू स्थापना हुन थाले ।

त्रिपुरासुन्दरीको मन्दिर भएको ठाउँमा पनि कुनै अङ्ग विशेष पतन भएको मानिन्छ । त्यस मन्दिरनजिकैको एकदमै भिरालो अनि साँघुरो ठाउँमा भए पनि केही किशोरी नेटमा क्रिकेट अभ्यास गर्दै रहेछन् । उनीहरूलाई एक स्थानीय खेलाडीले सिकाउँदै रहेछ । ती किशोरीको नेट प्राक्टिसिङ हेर्दै गर्दा नेपाली महिलाले क्रिकेट खेलमा पाएको सफलता झल्झली सम्झिन पुगेँ ।

त्रिपुरासुन्दरी मन्दिरमा दर्शन गरी फर्किंदा बैतडीस्थित बस्कोटमा रहेको शहीद दशरथ चन्द जन्मेको घरतिर घुम्न गयौँ । त्यहीँसम्म पुग्ने बाटो कच्ची एवं अलि उबडखाबड रहेछ । २०७४ सालमा जाँदा दशरथ चन्दको घरको पुनर्निर्माणको कार्य चल्दै थियो तर यो पटक पुनर्निर्माण सकिए पनि ढोका बन्द भएका कारण भित्रै गएर घुम्न पाएनौँ । आँगनमा एक हुल केटा क्रिकेट खेल्दै रहेछन् । स्थानीय काठकै ब्याट अनि बल पनि कमलो खालको । एकछिन तिनीहरूको खेल हेरेपछि मैले पनि दुई, चार राउन्ड बलिङ र केही समय ब्याटिङ गरेँ । 

त्यसो त क्रिकेटसँग शहीद दशरथ चन्दको कुनै साइनो छैन तर नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहीद दशरथ चन्द र नेपाली क्रिकेट खेलमा सुदूरपश्चिमका खेलाडीहरूको देन निकै सम्माननीय छ । नेपाली क्रिकेटमा सुदूरपश्चिम प्रदेशले उम्दाका खेलाडी जन्माएको छ । दीपेन्द्र चन्द, विनोद भण्डारी, नरेश बुढायेर, चन्द्र साउद, प्रदीप ऐरी, भुवन कार्की, दीपेन्द्र सिंह ऐरी, राजु रिजाल, भीम कार्की, सुनदीप जोरा, कमलसिंह ऐरी, लोकेश बम यस्तै केही उल्लेखनीय नाम हुन् । त्यसो त नेपाल क्रिकेट सङ्घका अध्यक्ष पनि बैतडीकै हुनुहुन्छ । 

अघिल्लो पटक पनि बैतडी आउँदै गर्दा पाटनस्थित हवाई मैदान पिच भइसकेको थिएन । त्यसबेला उदयदेव मन्दिरनजिकैको हवाई मैदानमा रैथाने युवासँग क्रिकेट खेल्ने मौका पाएको थिएँ भने यो पटकको बैतडी भ्रमणका क्रममा त्यहाँको टुँडिखेल, त्रिपुरासुन्दरी मन्दिरनेर अनि दशरथ चन्दकै आँगनमा क्रिकेट खेलिरहेबाट बैतडी र क्रिकेटमा मेरो मन भुलियो । त्यसपछि ऐतिहासिक महìवको दशरथ चन्दको घरनजिकैको सप्तदेवलतिर घुम्न निस्कियौँ । त्यहाँबाट फर्किने क्रममा बैतडीमा बन्दै गरेको क्रिकेट स्टेडियममा खासै प्रगति देखिनँ । २०७४ सालमै स्टेडियम निर्माण गर्ने क्रममा थियो । यसबाट भने मन कुँडियो ।

भोलिपल्टको दिउँसैतिर नागबेली परेको ठाडै उकालो अनि तेर्सो बाटो नाप्दै झुलाघाट अनि पारि भारतको सीमा बजारसम्म घुम्न गयौँ । यसबीच बैतडीमा काम सकिसकेकाले फर्किने बेला भयो । फर्किने बेलामा बाटोमा पर्ने देहिमाडौँमा अवस्थित निङ्लाशैनी मन्दिरको दर्शन गरेर फक्र्यौं । एउटा गोठालोको गाईहरूमध्ये एक कैलु गाईले ठीक मध्याह्नको बेला सधैँ एउटै थलोमा दूध दिएपछि मात्र घर फर्किने गरेको रहेछ । कैलु गाईलाई घरमा दुहुन खोज्दा दूध नै दिँदैनथ्यो । एकदिन ग्वालाले किन यस्तो भएको रहेछ भनेर चियो गरेछ । चियो गर्दा कैलु गाईले हरियो निगालोको झ्याङमा गएर आपैmँ दूध दिँदो रहेछ । अनि ग्वालाले त्यो निगालोको फेद हँसियाले काटेछ । अकस्मात् रगतको भेल बग्न थालेछ । 

यो दृश्यबाट भयभित ग्वालाले घरमा गएर खबर ग¥यो । गाउँलेहरू उक्त स्थानमा हेर्न आउँदा ज्योतिर्मय शिलाको दर्शन पाएका थिए रे ! सँगै गएका लावडले पहिले दर्शन पाएको कारण अद्यापि पूजा तथा बलि उसैको हुन्छ भन्ने चलन छ । यसरी निगालोको फेदमा पाएका कारण निङ्गालाशैनी, निङ्लाशैनी हुन गएको जनश्रुति छ । निङ्लाशैनीको महिमाका कारण वरपरबाट पूजा सामग्रीसहित आआफ्नो समूह बनाई पूजा गर्न आउँछन् । निङ्लाशैनीको दर्शनले रोगव्याधि, भय, दरिद्रता मुक्त हुने, सन्तान सुख प्राप्त हुने र धन, ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ ।

यसरी यस पटकको बैतडी भ्रमणमा सुदूरपश्चिमका प्रख्यात धार्मिकस्थल घुमेको भए पनि शहीद दशरथ चन्दको जन्मथल र नेपाली क्रिकेट खेलको परिवेशका कारण निकै स्मरणीय रह्यो ।