भानु जयन्तीको सान्दर्भिकता

dharmendra jhaधर्मेन्द्र झा

 


आज असार २९ गते आदिकवि भानुभक्तको २०५ औँ जयन्ती । नेपाल र नेपाली भाषीका लागि निकै महŒवपूर्ण दिन । आज नेपाल र नेपाली भाषी भएका विश्वका विभिन्न ठाउँमा विविध कार्यक्रमको आयोजना गरी भानुलाई सम्झिइँदैछ । सम्झिने तरिका भने उही पुरानै छ, केही थान पुरस्कार र सम्मानपत्र वितरण अनि भानुका रचना श्लोकहरूको वाचन । भानु सम्झने परम्परा यसरी नै धानिँदैछ । अझ नेपालमा त विगत केही वर्षयता अत्यन्तै पारम्परिक र कर्मकाण्डी शैलीमा भानुलाई सम्झिने दायित्वको सामान्य निर्वहन भइरहेको छ भन्दा अतिशयोक्ति हुँदैन । सारमा भन्नुपर्दा, नेपालमा हालका दिनमा भानुलाई जुन रूपमा र जसरी स्मरण गर्ने काम भइरहेको छ, त्यो पर्याप्त छैन । सरकार र केही थान गैरसरकारी साहित्यिक सङ्घ–संस्थाले सादा रूपमा भानुलाई नसम्झिने होइनन् तर सम्झिने प्रयासमा आयोजित हुने कार्यक्रमको उद्देश्य भानुलाई स्मृतिमा ल्याउनुभन्दा पनि आफ्नो प्रचार गर्नु बढी हुन्छ ।
कवि भानुभक्त नेपालका अमूल्य निधि हुनुहुन्छ, यसमा शङ्का छैन । दुई शताब्दीपूर्वको कालखण्डको सम्झना गरेर भानुको योगदानलाई स्मरण गर्ने हो भने त्यस समयको जटिलता र चुनौती तथा नेपाली भाषाको अवस्थाबारे सहजै अनुमान लगाउन सकिन्छ । त्यस समयमा भानुले रामायणको नेपाली अनुवाद गर्नुभयो । वर–वधु संवादजस्तो कालजयी रचना गर्नुभयो । नेपाली भाषाले सार्थक आकार ग्रहण गर्न नसकिरहेको अवस्थामा अस्तित्वमा आएका भानुका रचनाले नेपालीलाई एक खास मौलिकतामात्र प्रदान गरेनन्, बरु स्पष्ट परिचय पनि प्रदान गरे । नेपाली (खस) भाषाका अनेक प्रकार र शैली विद्यमान रहेको तत्कालीन समाजमा भानुको रचनाले सबैलाई एक मालामा उन्ने काम ग¥यो । भाषामा एकरूपता कायम गर्ने दृष्टिले भानुको योगदानलाई अतुलनीय मान्नुपर्छ । सरल वर्ण विन्यास, सहज उच्चारण र गेय गुणयुक्त उहाँका रचनाले त्यस समयमा सम्पूर्ण नेपालीभाषीलाई आफ्नो भाषाप्रति आकर्षित ग¥यो । यो एक यस्तो कारण थियो, जसले नेपालीभाषीलाई भावनात्मक रूपमा एक ठाउँमा ल्यायो । यतिमात्र होइन, वास्तविक अर्थमा नेपाली भाषीबीच राष्ट्रियताको प्रवद्र्धन ग¥यो । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा गरेको नेपालको एकीकरणलाई भानुको रचनाले पुष्पित र पल्लवित बनायो ।
आजको सन्दर्भमा यस यथार्थको व्याख्या अलग–अलग दृष्टिकोणले गर्न सकिएला, गरिन्छ तर माथि उल्लेख गरिएको तथ्य तात्कालीन समयको अनिवार्य आवश्यकता थियो । आज भानु र उहाँका रचनालाई खास जात र वर्गका दृष्टिले व्याख्या गर्दै आरोपित गर्ने प्रयास पनि हुन सक्छ तर यो अनुचित हो । पछिल्लो समयमा नेपालको राजनीतिमा आमूल परिवर्तन भएको छ । राजनीतिमा अनेकौँ प्रकारका मूल्य–मान्यता जोडिएका छन् । अनेकौँ विश्वास सतहमा देखिएका छन् । निश्चय पनि यी सबैको सम्मान गरिनुपर्छ । सामयिक परिवर्तनलाई स्वीकार्नुको विकल्प छैन तर राष्ट्रियताको मुद्दा त्यसबेला पनि थियो र आज पनि छ । भानुको रचनालाई मसिनो गरी विश्लेषणको प्रयत्न गर्ने हो भने उहाँका कृतिहरू राष्ट्रियता प्रवद्र्धनसँग पनि सम्बन्धित छन् भन्दा फरक पर्दैन ।
त्यसो त आधुनिक परिवेशमा राष्ट्रियताको परिभाषाका पनि विभिन्न आधार छन् । यस सम्बन्धमा जे जस्तोसुकै आधार भए पनि एक कुरासँग के विमति व्यक्त गर्न सकिँदैन भने राष्ट्रियताको सम्बन्ध संस्कृतिसँग छ । यस अर्थमा भन्ने हो भने नेपालको भूगोलभित्र छरिएर रहेका विविध संस्कृतिलाई सजिलो भाषाका माध्यमले एउटा मालामा उनेर भानुले पक्कै पनि राष्ट्रियताको सम्बद्र्धनको प्रयास गर्नुभएको हो । यो अलग कुरा हो, कालान्तरमा भानुले विस्तार गरेको नेपाली भाषाले राज्यको उचित संरक्षण प्राप्त गर्दा यस भूगोलभित्र रहेका मैथिलीलगायतका देशका उन्नत र विकसित भाषाले राजकीय संरक्षण गुमाउनुप¥यो र अस्तित्वको सङ्कटसमेत व्यहोर्न बाध्य हुनुप¥यो तर यो अवस्था भानुले सिर्जना गर्नुभएको होइन । सत्तामा रहेकाले भानुको भावनाको अपव्याख्या गर्दा देशमा भाषिक विभेदको अवस्था सिर्जना हुन पुगेको सत्यलाई अस्वीकार गर्न सकिँदैन ।
भानुले त घाँसीबाट पनि प्रेरणा प्राप्त गर्नुभयोे । उसका कुरालाई भाषिक र भावनात्मक अभिव्यक्ति प्रदान गर्नुभयो । त्रुटि त भानुपछिका दिनमा सत्तासिनहरूले गरे । नीति निर्माता उदार हुन नसक्दा नेपाली भाषा जति सम्पन्न हुनु सक्नुपथ्र्यो, त्यति हुन सकेन । नेपाली जसरी राष्ट्रियताको एक साझा मानक हुन सक्नुपथ्र्यो त्यो हुन सकेन । यस भूगोलभित्र बोलिने अन्य भाषाप्रति निषेधको नीति लिइँदा ती भाषाबाट प्राप्त गर्न सकिने लाभबाट नेपाली वञ्चित भइरह्यो र अहिले पनि यो क्रम जारी छ । यतिमात्र होइन, भानुलाई आदिकविमा सीमित गरेर भानुभन्दा अघिको नेपालभित्रको साहित्य र साहित्यकारको अनुसन्धान कार्य पनि रोकियोभन्दा असत्य ठहर्दैन । यो हो भने पनि, नेपाली भाषाको पूर्णताका लागि यसलाई बाधा मान्न सकिन्छ । भानु वास्तवमै एक विराट व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको विशालताले अन्यलाई छोपेको पक्कै पनि हो तर के अन्तिम सत्य यही हो त ? आज नेपालमा राष्ट्रियताको नयाँ ढङ्गले परिभाषाको प्रयास गर्न अलग–अलग धार विकसित भइरहेका समयमा भानुको योगदनबारे साँगोपाँगो अनुसन्धान र चर्चा हुनु आवश्यक छ ।
एकत्वका आधारमा भाषाको पूर्ण विकास सम्भव छैन । भानुले आफ्ना रचनाका माध्यमबाट यसको सङ्केत गर्नुभएको छ । कतिले बुझे, कतिले बुझेनन्, कतिले बुझ्ने प्रयत्न नै गरेनन् र कतिले बुझेर पनि बुझ पचाए । भानुले आफैँले सिर्जना गरेको रचनामा संस्कृतलगायत त्यसबेला तनहुँको आसपासमा प्रयोग हुने अन्य भाषाको सामान्य प्रभाव दृष्टिगोचर गर्न सकिन्छ । उहाँका रचनामा प्रयोग भएका सबै शब्द र भाषा ठेट नेपाली हुन् भन्ने दाबी गर्न निश्चय पनि सकिँदैन तर दुर्भाग्य, यो सत्यलाई सत्ताधारीहरू अहिलेसम्म पनि सहज स्वीकार्न तयार छैनन् । यसो हो भने आज साँच्चै भानुलाई सम्झिएको कसरी मान्ने ? भानु आफैँले संस्कृतको अध्ययन गरेर नेपालीको सेवा गर्नुभएको हो । के यसबाट संस्कृत कमजोर भयो त ? आज कसैले नेपालीको सम्मान गरेर नेपालभित्रको अन्य भाषाको विकास गर्न वा सेवा गर्न चाहन्छ भने उसलाई किन प्रश्रय नदिने ? किन प्रोत्साहित नगर्ने ? के यसबाट नेपाली भाषा कमजोर हुन्छ ? नेपाली राष्ट्रियता सङ्कटमा पर्छ ? भाषाका पण्डितहरूबाट यसको उत्तर अपेक्षित छ । यस विपरीत नेपालको भाषिक नीति सधैँ नै एकलकाँटे रह्यो । नीति निर्माता जहिले पनि यहाँका अन्य भाषाबाट तर्सिइमात्र रहे । फलतः अन्य भाषा निरन्तर उपेक्षाका शिकार भइरहे । राज्यले अन्य भाषाको संरक्षणको नीति नै अख्तियार गरेन । कहाँसम्म भने बरु अङ्ग्रजीबाट नेपालीमा अनुवादको नीति लिइयो, नेपालका अन्य भाषा साहित्यबाट नेपालीमा अनुवादको प्रक्रियालाई प्रश्रय दिइएन र समग्रमा नेपालीलाई कमजोर बनाउने काम भयो ।
अन्य भाषीलाई नेपालीप्रति अपनत्वबोध हुने नीति तय गर्न नसक्दा पनि वर्तमान राजनीतिसँग जोडिएका धेरैजसो समस्या निम्तिएका हुन् भन्दा अस्वाभाविक हुँदैन । राजनीतिक आन्दोलनका नाममा जनकपुरमा भानुको प्रतिमा ढालिनु कदापि राम्रो होइन तर के राज्यले भन्न सक्छ, प्रतिमा ढाल्ने भावनाको विकास एक दिनमै भएकै हो ? वास्तवमा यस्तो अवस्था सिर्जना हुनुमा कतै न कतै राज्यका नीतिहरू दोषी छन् । भावी दिनमा यस्ता दृश्य कुनै पनि नेपालीले देख्न नपरोस्, राज्यले यसको सुनिश्चित गर्नु आवश्यक छ । के भानुको नेपाली चौतारीमा मैथिली, नेवारी, राई, लिम्बू, भोजपुरी, अवधी, थारूलगायतका भाषाका फूल फुल्न सक्दैनन् ? फुल्न सक्ने वातावरण निर्माण गर्न सके त भानुकै नेपाली चौतारी थप सुन्दर देखिने होइन त ? सम्बन्धितहरूले विचार पु¥याउनु आवश्यक छ । भानु जयन्तीले हामीमा चेतनाको विस्तार गर्न सकोस् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds