• १६ चैत २०८०, शुक्रबार

मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा

blog

काठमाडौँ, फागुुन २७ गते । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । 

२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमानाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, २०७७ असारमा निर्माण स्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो । 

प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । 

आयोजनाको अनुगमन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक रूपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पु-याएको जानकारी दिनुभयो । प्राकृतिक प्रकोपको चपेटामा परेर करिबकरिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको घिसिङले बताउनुभयो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताउनुभयो । 

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपियाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपियाँ रहेको छ । 

आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु. ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।