• ४ वैशाख २०८१, मङ्गलबार

जातीय छुवाछूत गर्नेलाई कारबाहीको माग

blog

जीवछ यादव 

लहान, फागुन २७ गते । जातीय छुवाछूतसहित गरिएको मृत्युभोजको विरोध गर्दै अधिकारकर्मीहरूले छुवाछूतलाई प्रश्रय दिनेलाई कारबाहीको समेत माग गरेका छन्। 

छुवाछूत गरेर मृत्युभोज गरिएको सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरिएको हो। उहाँले आमाको १३औँ दिनको तिथिमा बोलाएका पाहुनालाई जातीय आधारमा छुट्टाछुट्टै स्थानमा बसाएर मृत्युभोज गराउनुभएको थियो। जातअनुसार छुट्टाछुट्टै स्थानमा ब्यानर नै झुन्डयाइएको थियो।  

छुवाछूतलाई प्रश्रय दिएको भन्दै छानबिन गरी कानुनी दायरामा ल्याउनुपर्ने दलित अधिकारकर्मीले माग गरेका छन्। तराई मधेशमा हैसियतअनुसार १३औँ दिनमा आयोजना गर्ने सम्पिण्डन भोजस्थलमा गैरदलित, दलित र मुस्लिमहरूलाई छुट्टा छुट्टै ठाउँमा बसाएर खुवाइएकोमा यसको विरोध गर्दै कारबाहीको माग गरिएको हो। 

दलितहरूसँग बसेर भोज खान नसकिने भन्ने सन्देश गएको दलित अभियानकर्मी राजेश रामको भनाइ छ। उहाँ भन्नुहुन्छ, “संविधानको धारा १६६ मा जातजातिको आधारमा छुवाछूत गर्न नहुने, गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ।”

पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री तथा सिरहा–३ का सांसद लीलानाथ श्रेष्ठ, सिरहा–१ का सङ्घीय सांसद रामशङ्कर यादव, समानुपातिक सङ्घीय सांसद गङ्गाप्रसाद यादव, सम्झना थपलिया उक्त भोजमा सहभागी हुनुहुन्थ्यो।  मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, सिरहा–१ (क) र (ख) प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी, राजकुमार गुप्ता, गाउँपालिका अध्यक्ष र न्यायिक समितिका संयोजकहरूले गैरदलित कित्तामा बसेर भोज खानुभएको थियो। 

अधिकारकर्मी रामले आयोजक यादव र भोजलाई समर्थन गर्ने सांसद, पूर्वमन्त्री र स्थानीय तहका पालिका प्रमुख उपप्रमुखमाथि छानबिन हुनैपर्ने बताउनुभयो। सामाजिक रूपान्तरणका अगुवा रामरिझन यादव भन्नुहुन्छ, “संविधान कानुनको रक्षक जनप्रतिनिधिबाट यस्तो छुवाछूतलाई प्रश्रय दिनेलाई कानुनको दायरामा लिन चुक्नुहुँदैन।”

अध्यक्ष यादवले आफू दलित समुदायको अगुवा नेता भएको दाबी गर्दै जातीय अगुवाको दबाबमा अलगअलग राखेर भोज खुवाउनुपरेको बाध्यता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “भोज खाइरहेको समयमा अगरबत्ती लिएर भोज खाने (पञ्च)हरूको पङ्क्तिमा आशीर्वाद लिन जाँदा अन्तिममा ब्यानर प्लेकार्ड झुन्डयाएको देखेँ। कसले यसरी ब्यानर झुन्डयाएको त्यसबारे खोजी गरिरहेको छु। भोज व्यवस्थापनको जिम्मेवारी जातीय अगुवा पूर्वमन्त्रीद्वय  रामचन्द्र यादव र राजलाल यादवलाई दिइएको थियो।” यादव जातिका अगुवा पल्टु यादवले भोजको आयोजना गर्नेले यस्तो कुरामा सचेत हुनुपर्ने बताउनुभयो। भोजस्थलमा राम (चमार), पासवान, खत्वे, सदाय समुदाय गरी दलितहरूको अलग्गै–अलग्गै ब्यानर झुन्डयाएर भोज खुवाइएको उल्लेख गर्दै त्यस्तो गर्न नहुने विचार व्यक्त गर्नुभयो। 

भोजमा दुई हजारभन्दा बढीले खाना खाएका थिए। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा भोज आयोजक अध्यक्ष यादवलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्न र दलित समुदाय मानव अधिकारको संरक्षण गर्न नेपाल सरकारसँग माग गरिएको छ। 

संयुक्त दलित मोर्चा सिरहाका सचिव रविनकुमार महराको अगुवाइमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख भोजराज खतिवडालाई छुवाछूतलाई प्रश्रय दिइने गाउँपालिका अध्यक्ष यादवलाई कानुनको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ।