महाप्रबन्धकमा अधिकारी

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकमा संस्थानका प्रबन्ध सम्पादक हरिकला अधिकारी नियुक्त हुनुभएको छ । असार २६ गतेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उहाँ निमित्त महाप्रबन्धकमा नियुक्त हुनुभएको हो ।
उहाँ संस्थानको ११ तहको ज्येष्ठतम् कर्मचारी हुनुहुन्छ । मन्त्रालयको पत्रमा उहाँलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त महाप्रबन्धक तोकिएको उल्लेख छ । अधिकारीले यसअघि २०७४ साउन ८ देखि २०७४ पुस २ गतेसम्म निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
निमित्त महाप्रबन्धक अधिकारीले बुधबार नै पद बहाली गर्नुभएको छ । उहाँलाई प्रकाशन प्रमुख तथा विभागीय प्रमुखहरूले हार्दिक स्वागत गर्नुभएको थियो । यसैगरी, पत्रकारहरू, कर्मचारीहरु तथा आधिकारिक टे«ड युनियनका अध्यक्षलगायतले उहाँलाई स्वागत गर्नुहुँदै सफल कार्यकालको शुभकामना दिनुभयो । harikala adhikari
पद वहालीपछि प्रकाशन प्रमुख तथा विभागीय प्रमुखहरूलाई अधिकारीले संस्थानलाई सहजरूपमा सही तरिकाले अगाडि बढाउन कुनै समस्या भए खुलेर राख्न र समाधानका विकल्पहरू पनि ल्याउन निर्देशन दिनुभयो ।
उहाँ संस्थानको मासिक प्रकाशन ‘युवामञ्च’को सम्पादक तथा मुना मासिकको कार्यकारी सम्पादक पनि भइसक्नुभएको छ ।
गोरखापत्र दैनिकको पत्रकारिता सेवामा २०४६ साल कात्तिकमा प्रवेश गर्नुभएका अधिकारी संस्थान सेवापूर्व ‘राजधानी’ र ‘मातृभूमि’ साप्ताहिकसँग आबद्ध तथा ‘उपमा’ मासिकका सम्पादक हुनुहुन्थ्यो ।
उहाँका ‘रेडियोमा महिला बोली ः भाषा, संवाद र लैङ्गिक शैली’ र ‘सहभागिता ः सन्दर्भ–पुस्तक’ प्रकाशित छन् । यस्तै, उहाँ ‘सञ्चारकर्मी महिलाको अवस्था’, ‘सामुदायिक रेडियो प्रसारण निर्देशिका’, ‘व्यावसायिक बनौँ सुरक्षित रहौँ ः पत्रकार महिलाको सुरक्षा निर्देशिका’ कृतिहरूका सह–लेखक हुनुहुन्छ । उहाँका ‘अन्तद्र्वन्द्व’, ‘चित्र–विचित्र’ र ‘जिन्दगी बुझ्नलाई’ शीर्षकका तीन साहित्यिक कृति पनि प्रकाशित छन् ।
नेपाल प्रेस इन्स्टिच्युटको पत्रकारिता तालिमको पहिलो समूहमा प्रशिक्षित अधिकारीले पत्रकारितामा प्रशिक्षण र खोज अनुसन्धान गर्दै गोरखापत्रमा ‘जनआवाज’, ‘संवाद’ तथा ‘समकोण’ स्तम्भहरूका स्तम्भकार, रेडियो म्यागाजिनहरू ‘खोजखबर’, ‘हाकाहाकी’, ‘मिलिजुली’, ‘बराबरी’, ‘छिनोफानो’ तथा ‘सामना’का कार्यक्रम निर्माता र रेडियो म्यागाजिन ‘समकोण’को निर्माण परामर्शदाताका रूपमा पत्रकारिताको अभ्यास गरिसक्नुभएको छ ।
‘पत्रकारिता र प्रजातन्त्र’ विषयमा स्वीडेनको फोयो युनिभर्सिटिबाट डिप्लोमासहित विभिन्न देशबाट पत्रकारिताको तालिम र अध्ययन भ्रमणको अनुभव लिनुभएका उहाँ ‘नर्थ–साउथ ओमेन जर्नलिस्ट नेटवर्क’ र ‘पपुलेसन रेफरेन्स ब्युरो’को ‘ओमेन्स इडिसन’जस्ता सञ्जालमा पनि आबद्ध रही काम गरिसक्नुभएको छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा दर्शनाचार्य गरी हाल ‘सम्पादकीय सङ्कथनमा प्रतिनिधित्व’ शीर्षकमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।
असार २० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तत्कालीन महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पदमुक्त हुनुभएपछि संस्थान कार्यकारी प्रमुखविहीन थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना