• १६ चैत २०८०, शुक्रबार

टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

blog

टर्की र सिरियामा गएको भूकम्प । फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घ, फागुन २६ गते । टर्की र सिरियाका भूकम्प पीडितहरुलाई संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराएका जनाएका छन् ।

सिरियमा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ ।सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको प्रकोप फैलिने त्रास रहेकाले ती स्थानहरुमा पछिल्ला केही समययता स्वास्थ्य सामग्री र औषधि पनि वितरण गरिएको छ ।

ती प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत एजेन्सीहरुले औषधि, खद्यान्नको प्रबन्ध गरेका छन् । हैजाको प्रकोप फैलिन सक्ने सम्भावित स्थानहरुमा ती एजेन्सीहरुको सहयोगमा हैजाविरुद्धको खोप आदिको पनि व्यवस्था गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सी, विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य कार्यक्रम आदिले सिरिया र टर्कीका भूकम्प प्रभावितहरुका लागि काम गरिरहेका बताइएको छ । रासस/सिन्ह्वा