• ६ वैशाख २०८१, बिहिबार

मिर्गौला पीडितलाई आर्थिक सहयोग

blog

गुल्मीमा एक मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, फागुन २६ गते । गुल्मीमा एक मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शुक्रबार होटल व्यवसायी मञ्च गुल्मीले जिल्लाको कालीगण्डकी गाउँपालिका –५ फोक्सिङ् निवासी दुवै मिर्गौला पीडित ४० वर्षीय सरुमा सुत्पराईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुत्पराई विशाल फोक्सिङ होटलकी सञ्चालक हुनुहुन्छ । जीवनमरणको दोसाँधमा रहनुभएकी सुत्पराई अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ । 

होटल व्यवसायी सरुमाको उपचारमा सहयोग गर्ने उद्देश्यसाथ होटल व्यवसायी मञ्चले जिल्लामा “सरुमा सुत्पराई बचाऔं” अभियान सञ्चालन गरेको थियो । मञ्चले सञ्चालन गरेको अभियानबाट ६५ हजार ५९० रुपियाँ आर्थिक सङ्कलन भएको थियो । जिल्लामा रहेका विभिन्न व्यवसायीबाट आर्थिक सहयोग सङ्कलन गरिएकोमा रसिदबाट ४१ हजार ३३० र खुद्रा सहयोग २४ हजार २६० रुपियाँ सङ्कलन भएको थियो । 

अभियानमाफर्त सङ्कलन भएको कुल ६५ हजार ५९० रुपियाँ सुत्पराईका श्रीमान बोमबहादुर सुत्पराईलाई हस्तान्तरण गरिएको हो । मञ्चका संस्थापक अध्यक्ष युवराज भण्डारी, अध्यक्ष जङ्गबहादुर कुँवर, निवर्तमान अध्यक्ष भेषराज कँडेलले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । सुत्पराईको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्न आर्थिक सहयोग गरिएको मञ्चका जिल्ला अध्यक्ष जङ्गबहादुर कुँवरले जानकारी दिनुभयो । 

मिर्गौला पीडित सरुमाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरुले बताएका छन् । तर घरपरिवारको आर्थिक अवस्था ज्यादै नाजुक रहेकाले आफूहरूले अभियान नै सञ्चालन गरी आर्थिक सहयोग सङ्कलन गरी सहयोग गरिएको कुँवरले बताउनुभयो । पछिल्लो समय आर्थिक मन्दीका कारण व्यवसाय फस्टाउन नसकिरहेकाले होटल व्यवसायीहरु थप मर्कामा परिरहेको बताउँदै अध्यक्ष कुँवरले व्यवसायीलाई पर्ने समस्यामा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

आर्थिक मन्दी भइरहेको अवस्थामा पनि आर्थिक सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै मिर्गौला पीडित सुत्पराईको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । 

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष कुँवर, निवर्तमान अध्यक्ष भेषराज कँडेल, संस्थापक अध्यक्ष युवराज भण्डारी, उपाध्यक्ष विष्णुप्रसाद ज्ञवाली र मधु महर्जन, सचिव लालमणि आचार्य, सदस्य मैया कार्की, टेमलाल खनाल, हुमाकान्त खराल, कलानिधि खनाल, विशेष सल्लाहकार मुकुन्दहरि गौतमलगायतको उपस्थितिमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । होटल व्यवसायी मञ्चमा आबद्ध सदस्यलाई विपद्जस्ता समस्यामा मञ्चले विगतदेखि नै सहयोग गर्दैआएको निवर्तमान अध्यक्ष कँडेलले जानकारी दिनुभयो । होटल व्यवसायी मञ्च जिल्लामा सञ्चालित होटल व्यवसायीहरुको प्रतिष्ठित साझा संस्था हो ।