• ८ वैशाख २०८१, शनिबार

उम्मेदवार मनोनयन दर्ता फागुन २७ गते

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार हुनुपर्ने

blog

निर्वाचन आयोग ।

काठमाडौं, फागुन २६ गते । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिनुभएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित हुनुभएको उल्लेख गर्नुहुँदै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्नेछ ।

प्रवक्ता पौड्यालद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ” भन्ने व्यवस्था रहेको साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ” भन्ने व्यवस्था रहेकोले संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ ।’’