• १६ चैत २०८०, शुक्रबार

चट्टानले सडक निर्माणमा समस्या

blog

जयमान बुढामगर

रुकुमपूर्व, फागुन २६ गते । कडा चट्टानसहितको पहरा नहुँदो हो त देउखोला–जामाबागर पैदलयात्रा गर्नेले यतिबेलासम्म गाडीको सुविधा पाइसक्थे होलान्। कडा पहराका कारण सडक निर्माण हुन नसक्दा सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिकाका बासिन्दाले दुःख  पाइरहेका छन्। 

पुथा उत्तरगङ्गा गाउँपालिका–१४ को देउखोलादेखि कडा चट्टान भएकै कारण सडक निर्माण चार वर्षदेखि ‘ज्यूँका त्यूँ’ अवस्थामा छ। चार वर्षअघि देउखोलासम्म गाडी पुगेको थियो। 

देउखोलाभन्दा अघि निर्माण थालिए पनि सडक निर्माणले प्रगति लिन सकेको छैन। पहरा भएकै कारण सडक निर्माण अघि नबढ्दा सर्वसाधारण पैदलै हिँड्न बाध्य छन्। सरसामग्री पनि पिठ्युँमा बोकेर ओसार्नुपर्छ। 

२०७५ असोजको पहिलो सातादेखि देउखोला–नायगाड–जामाबगर–त्रिवेणी सडकखण्डमा सडकको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो। “जिल्ला सदरमुकाम रुकुमकोटदेखि देउखोलासम्म सडक पुगेको पनि चार वर्ष पुग्यो। यतिबेला जामाबगरसम्मै सडक पुग्नुपर्ने हो,” सिस्ने गाउँपालिका–२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले भन्नुभयो, “तर सडक निर्माणले गति लिएकै छैन।” 

दक्षिणतर्फको रुकुमकोट हुँदै देउखोला र उत्तरतर्फको पुथा उत्तरगङ्गा–१४, त्रिवेणी गरी दुईतर्फबाट ०७५ असोजको पहिलो सातादेखि ट्र्याक खोल्न थालिएको थियो। ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को बजेटमा पीएच/शङ्करमाली जेभी निर्माण सेवाले सडक निर्माण जिम्मा पाएको छ। ट्र्याक खोल्नेदेखि सडक कालोपत्र गर्नेगरी ठेक्का लागेको आरसीआईपीका कार्यान्वयन कार्यालय रुकुमपश्चिमका आयोजना व्यवस्थापक टङ्कप्रसाद खनालले बताउनुभयो।

तर दक्षिण र उत्तर दुवैतर्फबाट कडा चट्टान भएकै कारण सडक निर्माण अघि बढ्न नसकेको खनालले जानकारी दिनुभयो। पहरा फोड्न केही ठाउँमा ब्लास्टिङ पनि गरियो। तर त्यतिले मात्र सडक निर्माणले गति नलिएको उहाँको भनाइ छ। सडक निर्माणका लागि माटो भएका क्षेत्रमा खनिसकिएको छ। ११.६ किलोमिटर लामो यस सडकखण्डमा अब पहरा र चट्टान भएको तीन किलोमिटर ठाउँमा ट्र्याक खोल्ने काम बाँकी छ।

कडा पहराका कारणले सडक खन्ने काममा ढिलाइ भइरहेको निर्माण सेवाका प्रतिनिधि रामचन्द्र ओलीले बताउनुभयो। कडा पहरा फोर्न ठूला मेसिन र ब्लास्टिङमार्फत सडक खन्ने काम सुरु गर्ने तयारी भइरहेको ओलीको भनाइ रहेको छ।