• ५ वैशाख २०८१, बुधबार

नर्सिङ कक्षा सञ्चालन अनुमति

blog

घोराही समाचारदाता 

घोराही, फागुन २६ गते । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ पढाइका लागि अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठानलाई बीएनएसका लागि २० र बीएस्सी नर्सिङका लागि २० सिट निर्धारण गरेसँगै प्रतिष्ठानले नर्सिङ पढाइको अनुमति प्राप्त गरेको हो । 

चिकित्सा शिक्षा आयोगले बीएनएस र बीएस्सी नर्सिङ पढाइका लागि अनुमति दिएसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम खुला भएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले जानकारी दिनुभएको छ । 

“प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रम सुरु हुन लागेको छ,” उपकुलपति डा. लामिछानेले भन्नुभयो, “शैक्षिक कार्यक्रम अनुमति प्राप्त गरेसँगै प्रतिष्ठानको विकाससँगै पढाइका लागि यस क्षेत्रका विद्यार्थीलाई सहयोग पु¥याउनेछ ।” 

प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएसँगै यस क्षेत्रका नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ । शैक्षिक कार्यक्रम सुरु गर्न आयोगले अनुमति दिएसँगै भर्ना कार्यक्रम अगाडि बढाउने तयारी गरिएको छ । नर्सिङ कक्षा सञ्चालनका लागि आवश्यक नर्सिङ प्राध्यापक नियुक्तिलगायत भौतिक पूर्वाधारलगायतका संरचना, लाइब्रेरी, कक्षाकोठा, अडोटोरियल रुम तयारी अवस्थामा रहेको प्रतिष्ठानले जनाएको छ ।