• १५ चैत २०८०, बिहिबार

फागुमा सवारी दुर्घटनाबाट सोह्र जनाको मृत्यु

blog

मधेश प्रदेश ब्युरो 

जनकपुरधाम, फागुन २६ गते । फागुपर्वको अवधिभरमा मधेश प्रदेशमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन्। फागुको तीन दिनमा प्रदेशका आठवटै जिल्लामा विशेष सुरक्षा व्यवस्थाअनुसार अभियान नै सञ्चालन गरिएको थियो।

कलैया समाचारदाताका अनुसार प्रदेशका आठ जिल्लामा फागुपर्वमा मदिरा सेवनगरी सवारीसाधनबाट हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले फागुन २२ गतेदेखि २४ गतेसम्म अभियान सञ्चालन गरिएको थियो। राजमार्ग तथा सहायक मार्गमा सवारी जाँचलाई कडाइ गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो। 

तीन दिनको अवधिमा ट्राफिक प्रहरीले दुई हजार ७१७ सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाहीसमेत गरेको थियो। कारबाहीबाट जरिवाना २० लाख ९४ हजार पाँच सय रुपियाँ असुल गरेको उहाँले बताउनुभयो। उक्त अवधिमा प्रदेशमा ११९ वटा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको र १७२ जना घाइते भएका छन्। तीमध्ये धनुषामा पाँच, सप्तरीमा तीन, पर्सामा दुई र बारा, रौतहट, महोत्तरी, सिरहा र सर्लाही जिल्लामा एक–एक जनाको मृत्यु भएको हो। 

यसैगरी मादकपदार्थ सेवन गरी सवारी चलाउने १२३ जनालाई कारबाही गरिएको छ। साथै ७९४ वटा सवारीसाधन नियन्त्रणमा लिएको र तीव्र गतिमा सवारीसाधन चलाउने २० जनालाई कारबाही गरिएको समेत उहाँले बताउनुभयो। 

ढल्केबर समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाले चलाएको विशेष सुरक्षा योजनाअन्तर्गत एकैदिन २९० वटा मोटरसाइकलसहित १७ जनालाई नियन्त्रणमा लिएको छ। बुधबार जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा भएको फागुपर्वलाई मर्यादित तथा सुरक्षित बनाउन जिल्लाभरि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो। 

प्रहरीले नियन्त्रणमा लिएकामध्ये अधिकांश युवा रहेको र उनीहरूलाई लागूऔषध तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक प्रशिक्षणपश्चात् कसुरअनुसार जरिवाना गरिएको प्रवक्ता गौतमले बताउनुभयो। 

सप्तरी समाचारदाताका अनुसार सप्तरीमा फागुपर्वमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० वटा मोटरसाइकलसहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतमा रहेका प्रहरीले विभिन्न समयमा फागुको अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने मनिस र सवारीसाधन नियन्त्रणमा लिएको सप्तरी प्रहरी उपरीक्षक नरेन्द्रकुमार  कार्कीले जानकारी दिनुभयो।