• १६ चैत २०८०, शुक्रबार

नक्कली भिसा देखाएर ठगी

blog

रङ्गेली समाचारदाता

विराटनगर, फागुन २६ गते । विराटनगर–५, त्रिमूर्ति चोकका तुलाराम माझी गत पुसमा कुवेत जान ठिक्क पर्नुभयो। लक्की एचआर र प्याराडाइज मेनपावरका एजेन्ट भनिएका सिरहा घर भई विराटनगर बस्ने विष्णुदेव दासको नाममा ९० हजार रुपियाँ जम्मा गर्नुभयो। 

दाससँग अर्का साझेदार सिरहाको सखुवानगरकट्टी गाउँपालिका–४ का गौरीशङ्कर मुखियाले पनि रकम जम्मा गर्न लगाउनुभएको थियो। दुवै मिलेर ११ जनाबाट ११ लाख ६५ हजार रुपियाँ रकम सङ्कलन गरिएको छ। नक्कली भिसा देखाएर रकम सङ्कलन गरेपछि एजेन्टहरू अहिले सम्पर्कविहीन भएको पीडित माझीको भनाइ छ।

पुसदेखि विदेश जाने तरखरमा रहेका उनीहरूमध्ये विराटनगरका कल्चु चौधरीले एजेन्ट भनिएका दासलाई आफ्नो मोटरसाइकलसमेत बिक्री गर्नुभएको थियो। चौधरीले भन्नुभयो, “भोलि (गत पुस ६ गते) कुवेतको ललु हाइपर मार्केटको स्टोर किपरका लागि उड्नुपर्छ भने अनि बाइक बिक्री गरेँ। अहिलेसम्म न कुवेत पठाए न त पैसा फिर्ता दिएका छन्।” 

विराटनगरका सञ्जीवकुमार मण्डल, अरुणकुमार साह, हरिनायारण चौधरीसहित ११ जनाले विष्णु र गौरीशङ्करको नाममा रकम जम्मा गरेका छन्। कतिपयले बैङ्कमा र कतिपयले कागज गरेर पनि रकम जम्मा गरेका छन्। तीमध्ये हरिनारायण चौधरीले कागज गरेर दुई लाख २० हजार रुपियाँ बुझाउनुभएको थियो। 

पैसा जम्मा गरेपछि एजेन्ट भनिएका उनीहरूले महोत्तरीको बर्दिबासस्थित एउटा कन्सल्टेन्सीमा लगेर परामर्श तालिमसमेत दिएका थिए। त्यसमा लागेको आउजाउ खर्च र कोशी अस्पताल नजिक रहेको एउटा क्लिनिकमा मेडिकल परीक्षणसमेत गराएको थियो।  

युवालाई वैदेशिक रोजगारीमा पठाउने आश्वासन दिएर ठगी गरेको आरोपितमध्ये विष्णुदेव दासले गौरीशङ्करले फसाएको दाबी गर्नुभएको छ। मुखियाविरुद्ध सिरहामा ठगी गरेको भन्दै प्रहरीमा उजुरी समेत दिएको बताउनुभयो। अर्का गौरीशङ्करले भने दासले सबैको पैसा उठाएर आफैँ खर्च गरेकोले विदेश पठाउन नपाइएको आरोप लगाउनुभयो। भिसा भन्दै दिएको कागजमा नामबाहेकको विवरण सबैको एउटै उल्लेख छ। नक्कली कागजात बनाएर ठगी गरेर रकम लिएपछि अहिले एकले अर्कोलाई दोष लगाएर उम्किने मौका खोजेको पाइएको छ।