• १६ चैत २०८०, शुक्रबार

पुग्यो खानेपानी सुविधा

blog

बनेपा समाचारदाता 

बनेपा, फागुन २६ गते । खानेपानीको समस्या भोगिरहेका काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, सिउरानीका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयवासी ‘एक घर, एक धारा’ कार्यक्रमबाट खानेपानीको सुविधा पाएपछि हर्षित बनेका छन् । 

नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को प्राविधिक सहयोगमा गत भदौ महिनाबाट सिउरानी भन्ज्याङखर्क खानेपानी आयोजना सुरु भएको थियो । एक करोड ९३ लाख ६३ हजार २५७ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाका लागि गाउँपालिकाको ४९ लाख २२ हजार ६४६, रोटरी क्लब बौद्धको ९२ लाख ७३ हजार ९४३, समुदायबाट छ लाख ९९ हजार र ४७ लाख ६७ हजार ६६७ रुपियाँ बराबरको श्रमदान भएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो । 

आयोजनाबाट २२३ घरधुरीका एक हजार ३३७ जना प्रत्यक्ष लाभान्वित भएको उहाँले बताउनुभयो । बेथानचोक गाउँपालिका–६ का वडाध्यक्ष विष्णु तामाङले सिउरानीमा एक घर, एक धारा कार्यक्रमअन्तर्गत खानेपानी उपलब्ध भएपछि स्थानीय बासिन्दा खानेपानीको अभावबाट मुक्त भएको बताउनुभयो । खानेपानीको व्यवस्था भएपछि पानी लिन खर्चिनुपर्ने समय आयआर्जनमा लगाउन सहयोग पुग्ने बताउनुभयो । पाँच महिनामा सम्पन्न भएको सिउरानी भन्ज्याङखर्क खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गर्नुभएको हो ।