• ८ वैशाख २०८१, शनिबार

चैतदेखि ब्याजदर घट्ने

blog

काठमाडौँ, फागुन २६ गते । पछिल्लो समय बढ्दो ब्याजदरकै कारण प्रताडित व्यवसायी तथा सर्वसाधारणलाई राहत हुने भएको छ ।

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैङ्कर्स एसोसिएसनले आगामी चैतदेखि बचत ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने भएको छ । एसोसिएसनको बिहीबार बसेको बैठकले बचतको ब्याजदर घटाएर न्यूनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष सुनील केसीले जानकारी दिनुभयो । यसअघि बैङ्कहरूले बचततर्फको न्यूनतम ब्याजदर ६ दशमलव ४२ प्रतिशत र अधिकतम ८ दशमलव ४२ प्रतिशत लिँदै आएका थिए । एसोसिएसनले कल निक्षेपमा बैङ्कहरूले ३ दशमलव २१ प्रतिशतसम्म ब्याजदर दिँदै आएकामा यसलाई घटाएर ३ प्रतिशतमा झारेको छ ।

एसोसिएसनले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ, जुन यसअघि बैङ्कहरूले ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए ।

एसोसिएसनको निर्णयसँगै वाणिज्य बैङ्कले ऋणको ब्याज तय गर्दा आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम जोड्न पाउने भएका छन् । यसअघि ७ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका बैङ्कहरूले चैतदेखि घटाएर ५ प्रतिशत कायम गर्नुपर्ने भएको छ ।

बैङ्कले गत माघमा १२ दशमलव १३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए । माघ, फागुन र चैत महिनामा घटेको ब्याजको असर बेसरेटमा देखिने भएकाले तीन महिनाको औसत बेसरेट वैशाखदेखि लागू हुने बैङ्किङ क्षेत्रको औसत बेसरेट घटेर एकल अङ्कमा आउने देखिएको छ । एकल अङ्कको बेसरेट अर्थात् ९ प्रतिशतमा अधिकतम ५ प्रतिशत प्रिमियम जोड्दा कुनै पनि कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा बढी नहुने भएको छ ।