स्थानीय बीउ जोगाउँदै किसान

ललितपुर, असार २६ गते । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा पर्ने साँगाका किसान रामकृष्ण ढकाल समय–समयमा आफूसँग भएका वा गाउँघरमा भेटिएका स्थानीय जातका बाली बोकेर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पुग्नुहुन्छ ।

आफूसँग भएको कुनै बाली गाउँघरमा कम देखिएपछि उहाँ नार्कअन्तर्गतको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रलाई उपलब्ध गराउनुहुन्छ । बालीमा कुनैखालका रोगले बीउ नै नष्ट हुन सक्छ । बीउ बैंकका रुपमा रहेको केन्द्रमा राखेपछि एक सय वर्षसम्म सुरक्षित हुने ढकालले बताउनुभयो । आफूसँग भएका रैथाने जात पुस्तौँसम्म जोगाउनुपर्छ भन्ने धारणाले उहाँले केन्द्रमा बीउ दिने गर्नुभएको हो ।

यस्तै, दलचोकीका धु्रव सापकोटा पनि स्थानीय जातका बीउ जोगाउनुपर्छ भन्ने धारणा राख्ने किसान हुनुहुन्छ । पहिले शिक्षण पेशामा आबद्ध उहाँ अहिले नेपालको पहिलो बीउ बैंकका रुपमा रहेको दलचोकी बीउ बैंकको अध्यक्ष हुनुहुन्छ ।

बैंकले पैसा जस्तै गरेर बीउ जम्मा गर्ने र चाहिएका समयमा किसानलाई दिने गरेको छ । उहाँले पनि स्थानीयस्तरमा भएका जात कुनै लोप हुन लागे संरक्षणका लागि केन्द्रमा ल्याउने गर्नुभएको छ ।

हाइब्रिड र उन्नत जातको बढ्दो प्रयोगका कारण स्थानीय जात लगाउने किसानको संख्या कम हुँदै गएको छ । कतिपय किसान रैथाने बीउ मासिन दिन नहुनेमा सजग रहेको केन्द्रमा कार्यरत वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो ।

“यहाँ राख्दा आफैँले पछि चाहिँदा वा सन्तानको पालासम्म सुरक्षित हुने भन्दै किसानले बीउ राख्न ल्याउने गरेका हुन्,” घिमिरेले भन्नुभयो । कतिपयले भने आफ्नो सन्तान खेती नगर्ने हुँदा बीउ नजोगिने हो कि भन्ने चिन्ताले संरक्षणका लागि ल्याउने गरेका छन् ।

विभिन्न किसिमका रैथाने बालीमा फरक फरकखालका गुण भएको घिमिरेले बताउनुभयो । हाम्रा कतिपय स्थानीय जातमा विशेषखालका गुण पाइन्छ । कतिपय जातको अन्न खाँदा लामो समयसम्म भोक नलाग्ने, कतिपय अन्न बासनादार त कतिपय फरक खालका परिकारका लागि पुस्तौँदेखि प्रयोग हुँदै आएका अन्न छन् । तिनलाई संरक्षण गर्नुपर्छ भनेर कतिपय किसानले वर्षांैदेखि थोरै परिमाणमा भए पनि लगाउने गर्छन् ।

“उत्पादन कम वा अरु कुनै कमजोरीले गर्दा उन्नत जात लगाउने किसानले बीउ जोगाउनकै लागि भए पनि स्थानीय जात लगाएका छन्,” घिमिरेले भन्नुभयो ।

विशेष गरेर धान पर्याप्त फलाउन किसानले हाइब्रिड वा उन्नत जात लगाउँछन् भने चाडपर्वका लागि अनदी धान, बासनादारलगायतका गुण भएका धान पनि थोरै परिमाणमा रोप्ने गर्छन् ।

स्थानीय जात हराएरै जानु राम्रो नभएको नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउनुहुन्छ । पुस्तौँदेखि रोपिँदै आएको जात त्यस ठाउँको हावापानीका लागि सुहाउँदो हुन्छ । अहिले देशभर नै जलवायु परिवर्तनको असर बालीमा परेको छ । स्थानीय जातले देशभरको समस्या समाधान गर्न नसके पनि त्यस ठाउँको समस्या समाधान गर्न सक्ने थियो ।

“अहिले अधिकांश ठाउँमा स्थानीय जात लोप नै भइसके,” उहाँले भन्नुभयो ।

सरकारी र गैरसरकारी संस्थाले स्थानीय जातका बाली संरक्षणलाई बेवास्ता गरेको उहाँको आरोप छ । अधिकांश कार्यक्रम हाइब्रिडलाई प्रोत्साहन गर्ने छन् । “समय समयमा ठूलो काँक्रो, ठूलो फर्सी वा ठूलो गाई भन्दै किसानलाई सम्मान गर्नुले हाइब्रिडलाई प्रोत्साहन गर्छ,” पराजुलीले भन्नुभयो ।

केन्द्रमा समय समयमा स्थानीय जातका बीउ खोज्दै किसान आउने गर्छन् । केन्द्रले बीउका लागि १० देखि २० ग्रामसम्म दिने गरेको उहाँले बताउनुभयो । किसानले त्यसैलाई वर्षेनी रोप्दै गएर धेरै बनाउन सक्छन् । किसानलाई दिएर कम भएका बीउ बढाउनका लागि केन्द्रले पनि कुनै वर्षमा खेतबारीमा रोपेर त्यसको मात्रा बढाउँछ ।

“हामी आफैँ अध्ययनका लागि र किसानलाई चाहिँदा दिनका लागि पनि भण्डारण गरेर राख्छौँ,” पराजुलीले भन्नुभयो ।

नार्कअन्तर्गतकै कृषि वनस्पति महाशाखाले झण्डै ५० वर्षदेखि संकलन गरेको बीउ केन्द्रले सात वर्ष पहिलेदेखि संरक्षण गरेर राखेको हो । कतिपय कर्मचारीले ल्याएका त कतिपय किसानले बैंकमा जम्मा गरेका बीउ यहाँ छन् । अधिकांश जातका बीउ चिसो (माइनस २० डिग्रीसम्म) मा राखेर लामो समयसम्मका लागि सुरक्षित गरिन्छ ।

लामो समयसम्म रहने बीउ धेरै ठण्डा र छोटो आयु हुने बीउ त्योभन्दा कम तापक्रममा राखेर सुरक्षित गरिन्छ । केन्द्रले समय समयमा बीउको उमारशक्ति परीक्षण गर्दै आएको छ ।

केन्द्रमा अहिले १३० थरी बालीका गरेर ११ हजारभन्दा बढी जात संरक्षित छ । सबैभन्दा बढी धानबालीको दुई हजार ३०० जात छन् । कतिपय जात फरक स्थानबाट आएका एकैथरी बीउ हुन सक्छ । दोहोरिएकालाई घटाउने र नयाँ भेटिएका जात थप्दै जाने केन्द्रको योजना छ ।

उहाँ भन्नुहुन्छ, “हामीसँग संरक्षित बालीका जात बढ्ने र घट्ने भइरहन्छ । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds