• १६ चैत २०८०, शुक्रबार

मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छ : उपाध्यक्ष नेम्वाङ

blog

राष्ट्रपति पदमा निर्वाचित रामचन्द्र पौडेल र राष्ट्रपति पदमा पराजित सुवास नेम्वाङ । बिहीबार राष्ट्रपति पदको निर्वाचनका दिन मतदानस्थल संसद् भवन नयाँबानेश्वरमा एकैसाथ अभिवादन गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, फागुन २५ गते।  राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ।

राष्ट्रपतिको बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि रासससँग कुराकानी गर्दै उहाँले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु। राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधा र शुभकामना छ।”

जनताले जनताका लागि संविधानसभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्त्वपूर्ण निर्वाचनको चरणबाट गुज्रिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। मलाई धेरै नै खुसी लागेको छ। यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु।”

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानुनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु।” 

यसैबीच जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरूले मत दिएर निर्वाचनमा विजयी तुल्याएकामा खुसी व्यक्त गर्दै कार्यकालको सफलतका लागि बधाई ज्ञापन गर्नुभयो।

उहाँले भन्नुभयो, “सविधान र लोकतन्त्र रक्षा तथा जनभावनाअनुसार सबैको साझा र एकताको प्रतीकको प्रवर्द्धन गर्ने कार्यमा नयाँ राष्ट्रपतिको भूमिका र जिम्मेवारी केन्द्रित हुनुपर्छ। रासस