• १३ वैशाख २०८१, बिहिबार

पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि जन्मगाउँमा खुसीयाली

blog

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : गोरखापत्र अनलाइन

अमरराज नहर्की

तनहुँ, फागुन २५ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उहाँको जन्मगाउँ तनहुँको व्यास नगरपालिका –८ रिस्ती, बाहुनपोखराका बासिन्दा हर्षित छन् । स्थानीयवासी, नेता तथा कार्यकर्ताहरु एकअर्कामा भेटघाट गरेर, टेलिफोन संवाद, विजयको शुभकामना दिन व्यस्त छन् । 

गाउँबासीले देशको उच्च ओहोदामा वरिष्ठ नेता पौडेललाई आफ्नो जन्मथलो नबिर्सन आग्रह गर्दै विकास निर्माणमा पनि आफ्नो तर्फबाट प्राथमिकता दिन आग्रह गरेका छन् । नेता पौडेलको जन्मघरसँगै बस्नुभएका रामप्रसाद मिश्रले सबै स्थानीय बासिन्दाले गौरवको महसुस गरेको बताउनुभयो । निष्ठाको, आदर्शको राजनीति गर्ने व्यक्ति भएको हुनाले राष्ट्रलाई आवश्यक व्यक्ति भएको र संविधानको र गणतन्त्रको रक्षा योगदान पुग्ने मिश्रले बताउनुभयो । 

बाहुनपोखरा निवासी राजु गुरुङले यहीको ढुङ्गो, माटोमा हुर्किएको व्यक्ति राष्ट्रपति हुँदा सबै गाउँवासीमा खुसीयाली छाएको बताउनुभयो । नेता पौडेलले संविधानको अक्षरस पालना गर्ने भन्दै आएको संविधानअनुसार देश चल्नका लागि सहज हुने गुरुङले बताउनुभयो । ‘‘यहाँको बासिन्दामा उत्साह, उमङ्ग धेरै छाएको छ, विकास निर्माणमा अझ  धेरै टेवा पुग्छ भन्ने विश्वास जागेको उहाँले बताउनुभयो । 

व्यास नगरपालिका तनहुँका प्रमुख वैकुण्ठ न्यौपानेले आफ्नो पालिकामा जन्मिएको एक निष्ठावान व्यक्ति धेरै लामो राजनीतिक यात्रामा नेपालको लोकतान्त्रिक अभियान, संविधानको संरक्षण र संविधानवादका आधारभूत मूल्यमान्यता सधै लडिरहने व्यक्ति भएको तनहुँवासी अत्यन्त खुसी भएको बताउनुभयो । 

‘‘निष्ठाको राजनीतिले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर हुन्छ र निष्ठाको मूल्य र मान्यताको राजनीतिक् महत्व हुन्छ भन्ने अनुभूति भएको छ’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । 

कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेले तनहुँ गौरवान्वित भएको बताउनुभयो । राजनीतिको अविरल यात्री तथा निष्ठावान नेता,  राष्ट्र र राष्ट्रियताप्रति अडान र निष्ठावान नेता भएकाले जिल्लावासी खुसी भएको हड्खलेले बताउनुभयो । संविधानको रक्षा गर्ने आन्दोलनको नेतृत्व वरिष्ठ नेताले नै लिएको र खारिएको कर्मठ राष्ट्रवादी नेता भएकाले संविधानको रक्षा हुने विश्वास व्यक्त गर्नुभयो ।  

तनहुँ क्षेत्र १ बाट नेता पौडेलले एमालेका एकबहादुर रानालाई पराजित गर्दै विजयी हुनुभएको थियो । पौडेलले २५ हजार ३७१ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका रानाले १९ हजार ९८१ मत ल्याउनुभएको थियो ।