• १५ चैत २०८०, बिहिबार

बोटमा सोचेभन्दा बढी मञ्जरी, सुनसरीका किसान खुसी

blog

सुनसरीको इनरुवा –२ की किसान भोलादेवी यादवको बगैंचाको आँपमा लागेको मञ्जरी (फूल) । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, फागुन २५ गते । सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न गाउँमा यस वर्ष आँपको उत्पादन बढ्ने देखिएको छ । माघको अन्तिमदेखि हालसम्म प्रायः सबै किसानको आँपको बोटमा लागेको मञ्जरी (फूल) लागेकाले किसानहरू खुसी भएका हुन् । 

आँप खेतीका लागि कोशी प्रदेशको पहिलो जिल्लाका रूपमा प्रख्यात सुनसरीमा आँपको बोटमा बोटैभरि मञ्जरी लागेकाले किसानहरू दङ्ग छन् । सामान्ययता प्रत्येक वर्ष नभए आँप एक वर्ष बिराएर फल्ने गरेकोमा गत वर्ष असिना पानीले कम फलेकोमा यसपालि सोचेभन्दा बढी फूल लागेको इनरुवा –९ का किसान राजेश यादवले बताउनुभयो । 

यादवका अनुसार यस वर्ष रुखको पात ढाक्नेगरी मञ्जरी लागेपछि आँप उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार जिल्लामा दुई हजार ५० हेक्टर क्षेत्रफलमा फलफूल खेती हुँदैआएकोमा सबैभन्दा बढी आँप छ । 

आँपको बोटमा अहिले सुरुवाती अवस्थामा देखिएको फूलमा क्षति नभएमा गतवर्षको तुलनामा उत्पादन बढ्ने अनुमान गरिएको सिंहको भनाइ छ । विगतको भन्दा अहिले जिल्लामा आम्रपाली आँपको खेती बढेको छ । भोक्राहा नरसिंह गाउँपालिका २ का सुरेन्द्र मेहताले भन्नुभयो, “गाउँका किसानले लगाएको आँपको रुखमा पात कतै पनि देखिँदैन, ‘आँपको बोट मञ्जरीले ढाकेको छ । यस वर्ष कीरा लागेन भने आँपको उत्पादन सोचेभन्दा  बढी फल्छ ।” 

यस वर्ष मञ्जरी लागेपछि ठूलो हावाहुरी नचलेमा उत्पादन बढ्ने उहाँको विश्वास छ । कृषि प्राविधिक भुवनेश्वर यादवका अनुसार आँपको मञ्जरीमा मधुवा कीरा लाग्नेगर्छ । ‘कुनै कुनै वर्ष त किरीले फल दिनु अगाडि नै मञ्जरी सखाप पार्छ’, उहाँले भन्नुभयो, ‘यस वर्ष अहिलेसम्म त कीरा लागेको छैन । भोलिपर्सि के हुन्छ भन्न सकिँदैन ।’

यादवका अनुसार कीरा लाग्न नदिन अहिलेदेखि नै किसानले औषधि छर्किन सुरु गरिसकेका छन् । उहाँले थप्नुभयो, ‘मञ्जरी सप्रियो भने त हाँगाहरूले आँपको भार थाम्न गाह्रो पर्छ । आधा मञ्जरी खसेर आधामा मात्र फल लाग्यो भने यहाँका किसानलाई फाइदा हुन्छ ।’ नेपालमा आँप खेतीका लागि राजधानी भनेर चिनिने मधेश प्रदेशको सिराहा र सप्तरीमा त झन् बढी क्षेत्रफलमा किसानले आँप लगाएका छन् । 

यस वर्ष अहिलेसम्म ठूलो हावाहुरी चलेको छैन । चैत, वैशाख, जेठभित्र मञ्जरीमा फल लागिसक्छ । त्यतिबेला हावाहुरीले केही क्षति नगरे यस वर्ष अन्य वर्षको तुलनामा बढी उत्पादन हुने कृषि प्राविधिकले बताएका छन् ।