• ६ वैशाख २०८१, बिहिबार

धराशायी हुने अवस्थामा इँटा उद्योग

blog

कपिलवस्तुको बुद्धभुमि नगरपालिका ६ महुवामा सञ्चालित इँटा उद्योग । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, फागुन २५ गते । “सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो । 

दुई वर्ष अगाडि कपिलवस्तुको इँटा उद्योगमा हुने कारोबार आधाभन्दा धेरै घटेको छ । व्यापार घट्दा बैङ्कलाई तिर्नुपर्ने व्याज र कच्चा पदार्थको मूल्य दुई गुना बढेको छ ।” कपिलवस्तुको बुद्धभूमि नगरपालिका –८ मा रहेको सेभेन स्टार इँटा उद्योगका सञ्चालक रुकबहादुर भुसालले बताउनुभयो । 

उत्पादन भएका इँटा बिक्री हुन छाडे पनि कपिलवस्तुका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । जिल्लामा १०५ इँटा उद्योग दर्तामा रहेका छन् । तीमध्ये कोभिडको महामारी पछि ५० को हाराहारीमा उद्योग मात्र सञ्चालनमा रहेका थिए । उत्पादन लागत बढ्दा माग न्यून हुँदै गएपछि पछिल्लो एक वर्षमा १५ उद्योग बन्द भएका कपिलवस्तु इँटा उद्योग व्यवसायी सङ्घका महासचिव नेत्र पाण्डेले बताउनुभयो । 

दशैं र तिहार पर्व मनाएर पछि इँटा उत्पादनको सिजन सुरु हुनेगर्छ । वर्षायाम सुरु हुनुभन्दा अगाडि करिब ६ महिनासम्म इँटा उत्पादन हुनेगर्छ । यस वर्ष फागुन सकिँदासम्म इँटा उद्योगमा कामदारको चहल पहल न्यून रहेको छ । अधिकांश उद्योगले उत्पादन आधाभन्दा धेरै घटाएका छन् । जसका कारण उद्योगमा काम गर्ने मजदुरलाई समेत समस्या परेको छ । 

इँटा पोल्न प्रयोग हुने कोइलाको मूल्य दोब्बर हुँदा उद्योगहरू धराशायी हुन लागेको उद्योग सञ्चालन सफर अलि मियाँले बताउनुभयो । डेढ वर्ष अगाडि प्रतिकेजी २४ रुपैयाँ कोइला खरिद हुनेगरेको थियो । त्यसको मूल्य हाल बढेर ४८ रुपियाँसम्म पुगेको छ । नेपालमा आउने कोइलाको गुणस्तर समेत कम भएको उद्योगीहरू बताउँछन् । 

कच्चा पदार्थको मूल्य निरन्तर बढ्दैजाँदा इँटाको मूल्य स्थिर रहेको छ । २ वर्षदेखि इँटाको मूल्य प्रतिगोटा १२ देखि १३ रुपियाँ पर्नेगरेको छ । कपिलवस्तुबाट उत्पादन भएका इँटा साबिक लुम्बिनी अञ्चलका जिल्ला र स्याङ्जासम्म माग हुने बताइएको छ । जिल्लामा हरेक वर्ष २५ करोड थान इँटा उत्पादन हुनेगरेको छ । दैनिक औसत ५ ट्रक इँटा बिक्री हुने उद्योगमा हाल सातामा २ ट्रक इँटा माग रहेको छ ।