• १५ चैत २०८०, बिहिबार

शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

blog

नविन शिशिर

बागलुङ, फागुन २५ गते । बागलुङको ताराखोला गाउँपालिकाले तत्कालीन द्वन्द्वकालमा शहीद तथा बेपत्ता भएका परिवारका सदस्यलाई मासिक भत्ता दिन सुरु गरेको छ। गाउँपालिकाले मासिक एक हजार रुपियाँका दरले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई भत्ता रकम वितरण गरेको हो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि आफ्नो ज्यानको आहुती दिने सहिदको सम्मान तथा स्मरणमा भत्ता दिन सुरु गरेको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले जानकारी दिनुभयो । 

ताराखोला द्वन्द्वकालीन समयमा सबैभन्दा बढी द्वन्द्व प्रभावित क्षेत्र हो । चालु आर्थिक वर्षको साउनदेखि यता आठ महिनाको एक मुष्ठ आठ हजार रुपियाँका दरले २७ परिवारका सदस्यलाई मासिक भत्ता वितरण गरिएको छ । 

गाउँपालिकाले चालु आवको नीति, कार्यक्रम तथा बजेटमा भत्ता वितरण कार्यक्रम समावेश छ । द्वन्द्वको समयमा राज्य पक्षबाट २१ जना सहिद र दुई जना बेपत्ता भएका थिए। विद्रोही माओवादीबाट चार जना सहिद गरी २७ जनालाई मासिक भत्ता प्रदान गर्ने अध्यक्ष विक ले बताउनुभयो । 

गाउँपालिकाको आर्थिक स्रोत बलियो बन्दै गएपछि भत्ता रकम वृद्धि हुँदै जाने उहाँको भनाइ छ । भत्ता रकमको लागि गाउँसभाले बजेट विनियोजन गरेको थियो । राज्यले सहिद र बेपत्ता परिवारको सूचीकृत गरेका सदस्यले भत्ता पाएका हुन् । 

अध्यक्ष विकका अनुसार गाउँपालिकामा गम्भीर प्रकृतिका ११ जना द्वन्द्वकालीन घाइते छन् । ‘राजनीतिक तथा सामाजिक परिवर्तितको लागि ज्यान गुमाउने प्रति हाम्रो उच्च सम्मान छ’ अध्यक्ष विकले भन्नुभयो, ‘भत्ता रकमले स्थानीय सरकार परिवर्तन कामी जनताको पक्षमा छ 

गाउँपालिकाले सहिद, बेपत्ता तथा घाइतेजनका परिवारलाई लक्ष्य गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालनको पनि तयारी गरेको छ ।