• १६ चैत २०८०, शुक्रबार

आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन

blog

राष्ट्रिय मानव अधिकार आयोग । फाइल तस्बिर

काठमाडौं, फागुन २५ गते । राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो ।

सदस्य ठाकुरले अनुगमनका क्रममा निर्वाचनमा मतदान प्रक्रिया सफलरुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा स्थलगत अवलोकन र अनुगमनका क्रममा निर्वाचनमा खटिएका निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी र पत्रकारसँग कुराकानी गरेका थियौँ । समग्रमा राम्रो वातावरणमा निर्वाचन सम्पन्न भएको पायौँ ।”  

यसअघिका  स्थानीय तह  र प्रतिनिधिसभा  तथा प्रदेशसभा निर्वाचनमा आयोगको टोलीले अनुगमन गर्दै आएको थियो । राष्ट्रपति निर्वाचनमा पहिलो पटक आयोगले अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रदेशसभातर्फका सांसदहरूको गुनासो आएको अनुगमन टोलीका संयोजक ठाकुरले जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभातर्फका सदस्यले मतदान गर्न काठमाडौँ धाउँदा खर्चसँगै जनताको काम ओझेलमा परेको गुनासो आएको बताउनुभयो । “प्रदेशतर्फको सांसदहरूले प्रदेशमा नै मतदान गर्न पाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रपतिलगत्तै उपराष्ट्रपतिको मतदानका लागि काठमाडौँ धाउनुपर्दा नागरिकको काम ओझेलमा परेको र स्वयं सदस्यलाई आर्थिक भार र समय बढी व्यतीत भएको उहाँहरूको गुनासो छ”, उहाँले भन्नुभयो । रासस