• ८ वैशाख २०८१, शनिबार

ओपनरद्वय चम्किएपछि पीएनजीलाई नेपालको चुनौतीपूर्ण लक्ष्य

blog

नेपालका ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल । तस्बिर : क्यान

काठमाडौं, फागुन २५ गते । ओपनर आशिफ शेख र कुशल भुर्तेल चम्किए पनि आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा बिहीबार सुरु भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ९७ विकेटको क्षतिमा रन बनाएको छ । 

नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो ऐतिहासिक योगफल पनि हो । नेपालका लागि ओपनर आशिफ शेखले एक सय १० रनको शतकीय पारी खेल्नुभयो ।


उहाँले एक सय १० बलमा १२ चौका दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । आशिफको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिला सतक हो । उहाँले यस खेलबाटै एकदिवसीय क्रिकेटमा एक हजार रन पनि पूरा गर्नुभयो ।

पीएनजीविरुद्ध ९० रन बनाउँदा उहाँको एकहजार रन पूरा भएको थियो । यस्तै ओपनर कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ र सोमपाल कामीले अविजित चार रन बनाउनुभयो । 

बलिङमा पीएनजीका सेमो कामेराले पाँच विकेट लिनुभयो । रिले हेकुरेले तीन तथा अलेई नाओदले एक विकेट झार्नुभयो ।नेपाल सिरिजका सबै (चारवटै) खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा छ । नेपाललाई विश्वकप छनोटमा छनोट हुन सिरिजका बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ । 

आयोजक नेपाल, पपुवा न्युगिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित सिरिजमा नेपालले दोस्रो खेल फागुन २८ गते युएई, तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । याे सिरिज लिग–२ को अन्तिम खेल पनि हो ।


नेपाललाई विश्वकप छनोटमा स्थान बनाउन सबै खेल फाइनलसरह छ । नेपाल अहिले तालिकामा पाँचौँ स्थानमा छ । नेपालले ३२ खेलबाट ३२ अङ्क बनाएको छ । समान खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ । ३२ खेलबाट नौ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । 

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनुपर्नेछ ।