• ६ वैशाख २०८१, बिहिबार

होली सकियो, होरीको रौनक कायमै

blog

होरी पर्वको अवसरमा होरी नाच नाच्दै । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, फागुन २५ गते ।
होली पर्व सकिए पनि राना थारु समुदायमा होरी पर्वको रौनक कायमै छ । होलीको चीर दहनपछि राना थारु समुदायका मानिस ‘मरी होरी’ अर्थात् मृत होरी पर्व मनाइरहेका छन् ।

‘‘मरी होरी अब आठ दिनसम्म चल्छ,’’ धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका भलमन्सा भज्जी रानाले भन्नुभयो, ‘‘खख्डेहरा फुटाएरमात्रै होरी पर्वको समापन हुन्छ ।’’ आउने मङ्गलबार खख्डेहरा फुटाउने दिन परेको उहाँले बताउनुभयो । मरी होरीको क्रममा भलमन्सासहित अन्य व्यक्तिको घरमा गएर दिउँसो होरी नाच नाच्ने चलन रहेको भलमन्सा रानाको भनाइ छ । घर÷घरमा गएर होरी नाच नाच्नेलाई मिठो–मिठो पकाएर खुवाउने चलन रहेको छ ।

यो समुदायको होरी पर्व माघ पूर्णिमाबाट सुरु भएको थियो । एक महिना आठ दिनसम्म मनाइने होरी राना थारुको सबैभन्दा ठूलो पर्व हो । माघ पूर्णिमादेखि चीर दहनसम्म ‘जिन्दा होरी’, अर्थात् जिउँदो होरी मनाउने गरिन्छ । यो बेला रातिको समय होरी नाच नाच्ने चलन रहेको बताइएको छ ।

मरी होरी सुरु भएपछि भने दिउँसो होरी नाच नाच्ने गरिन्छ । यो अवधिमा आफ्ना आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोज गर्ने चलन छ । जसलाई ‘हट्कना’ भन्ने गरिन्छ । हट्कनामा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासु, भातसहितका मिठा–मिठा पाकवान खुवाउने चलन छ ।

होरीको अन्तिम दिनमा खख्डेहरा फुटाउने गरिन्छ । खख्डेहरा होरी पर्वको सबैभन्दा महत्त्वपूर्ण दिन हो । यो दिन सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिँदै आएको छ । खख्डेहरापछि औपचारिक रुपमा होरी पर्व समापन हुने गरे पनि अनौपचारिक रुपमा भने चराँई पर्वसम्म होरी खेलिने गरेको राना थारु संस्कृतिका जानकार नारायण राना बताउनुहुन्छ ।

सुदूरपश्चिम प्रदेशकोे तराईवासी राना थारु समुदायको जनसङ्ख्या करिब तीन लाख छ । आफ्नो छुट्टै संस्कृति, संस्कार भएका कारण केही वर्ष अगाडि मात्रै यो समुदायलाई सरकारले थारुबाट अलग्याएर छुट्टै आदिवासी जनजातिको रुपमा सूचीकृत गरेको थियो ।