नेपाल र इन्डोनेसियाका परराष्ट्रमन्त्रीबीच भेट

काठमाडौँ, वैशाख ७ गते । इन्डोनेसियाको राजधानी जकार्तामा आज हुने एसियाली–अफ्रिकी मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहनुभएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र उहाँका इन्डोनेसियाली समकक्षी रन्टो आरपी मार्सुडीबीच भेटवार्ता भएको छ ।

गएराति अबेर परराष्ट्रमन्त्रीद्वयबीच भएको भेटवार्तामा पारस्परिक सम्बन्ध विस्तारका साथै विद्यमान आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन मन्त्रालयस्तरीय परामर्श संयन्त्र स्थापनामा जोड दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले राससलाई बताउनुभयो । सरकारी र कूटनीतिक राहदानीवाहकलाई एकअर्काले प्रवेशाज्ञा (भिसा)को अनिवार्यता हटाउने, पर्यटन प्रवद्र्धनसहित आर्थिक सहयोग विस्तारबारे छलफल भएको मन्त्रिस्तरीय बैठकको तयारीका लागि जकार्तामा रहनुभएका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध घनिभूत बनाउन प्रत्यक्ष हवाई सम्पर्क स्थापनामा मन्त्री पाण्डेले जोड दिनुभएको थियो । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य र समन्वय गर्नेबारेमा पनि दुवै देशका मन्त्रीबीच विचारविमर्श भएको थियो ।

सार्क मुख्यसचिवस्तरीय आगामी बैठक नेपालमा हुने

यसैगरी, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका मुख्यसचिवको चौथो बैठक आगामी वर्ष नेपालमा हुने भएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा आइतबार सम्पन्न सार्क मुलुकका मुख्यसचिवको बैठकले उक्त निर्णय गरेको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकमा मुख्यसचिव लीलामणि पौड्यालले सुशासन प्रवद्र्धनलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको तथा त्यसनिम्ति थालिएका सुधारका प्रयास र चुनौतीबारे जानकारी दिनुभएको थियो । सार्क मुलुकले सुशासन प्रवद्र्धनमा गरेका असल अभ्यासलाई एक–अर्को देशमा लागू गर्नुपर्नेमा मुख्यसचिव पौड्यालले जोड दिनुभएको थियो ।

उक्त दूतावासका अनुसार मुख्यसचिवको बैठकले आगामी काठमाडौँ बैठकमा अठारौँ सार्क शिखर सम्मेलनमा भएका निर्णयको कार्यान्वयनको अवस्था तथा भावी रणनीतिबारे समीक्षा गर्ने निर्णय पनि गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना