• ७ वैशाख २०८१, शुक्रबार

व्यावसायिक पाहापालन

blog

राममणि दाहाल 

हेटौँडा, फागुन २५ गते । गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन सुनिँदै र देखिँदै आएको हो तर मकवानपुरको थाहा नगरपालिकामा अहिले व्यावसायिक रूपमै पाहापालन सुरु गरिएको छ । मकवानपुरमा फरक र नवीन व्यवसाय गर्ने गरी थाहा नगरपालिका–४ का जितबहादुर थोकरले व्यावसायिक रूपमा पाहा फार्म सञ्चालनमा ल्याउनुभएको हो । 

५४ वर्षीय थोकरले कुलोभन्ज्याङमा विगत तीन वर्षदेखि कुलोभन्ज्याङ कृषि तथा पशुपन्छी पाहापालन फार्म दर्ता गरी सञ्चालनमा ल्याउनुभएको छ । 

बाथ, दम, अत्यधिक रक्तस्राव तथा हाडजोर्नीको दुखाइ कम गर्न पाहाको सुप खाँदा लाभदायी हुने जनविश्वास रहेकाले त्यसैलाई व्यावसायिक स्वरूप दिने गरे सो कार्य सुरु गरेको उहाँले बताउनुभयो ।  

वर्षाको समयमा आउने पाहा सङ्कलन गरी पाहापालन सुरु गर्नुभएको थियो । पहिलो वर्ष ६० वटा सङ्कलन गरेर राख्नुभएका उहाँले दोस्रो वर्ष १४० वटा थप्नुभयो । फार्ममा पाहापालनका लागि दुईवटा पोखरी छन् । उहाँले सुरुमा खोजेर र भेटेर ल्याई १५ वटा पाहा पोखरीमा हालेको जानकारी दिनुभयो ।