• ७ वैशाख २०८१, शुक्रबार

जुम्लाका स्याउका बिरुवा दोलखामा

blog

चरीकोट समाचारदाता

चरीकोट, फागुन २५ गते ।  दोलखाको कालिञ्चोकका किसानलाई जुम्लाको स्याउका बिरुवा वितरण गरिएको छ । कालिञ्चोक गाउँपालिका–१ का किसानको नगदे बालीमार्फत आयआर्जन वृद्धि गराउने उद्देश्यले दुईवटा क्षेत्रका लागि जुम्लाको स्याउका छ सयवटा बिरुवा वितरण गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले वडा नं. १ को तारेभीर र माथिल्लो खर्कमा रेड डेलिसस जातको सम्भावना देखिएकाले उक्त जातको स्याउ खेती सुरु गर्न लागेको हो । नमुनाका रूपमा लगाउन लागिएको स्याउ खेती सम्भावना र उत्पादनका आधारमा क्रमशः सबै क्षेत्रमा विस्तार गर्दै लैजाने गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले बताउनुभयो । 

भौगोलिक हिसाबले उपयुक्त र स्याउको उत्पादन हुने सम्भावना देखिएपछि गाउँपालिकाले कृषकलाई स्याउ खेतीतर्फ आकर्षित गर्न स्याउको बिरुवा वितरण गरेको गाउँपालिकाका कृषि प्राविधिक अर्जुन पुनमगरले बताउनुभयो । 

जुम्लाको स्याउको बिरुवा रोपेको र राम्रो मलजल पाएमा तीन वर्षमा उत्पादन दिने उहाँको भनाइ छ । नमुनाका रूपमा कृषि फार्ममार्फत सुरु गरिएको भए पनि त्यसलाई क्रमशः विस्तार गर्दै लगिने गाउँपालिकाको योजना छ ।