• ७ वैशाख २०८१, शुक्रबार

पुलिसमाथि हिमालयन शेर्पाको कठिन जित

blog

पुलिसविरुद्ध गोल गरेपछि खुसी मनाउँदै हिमालयन शेर्पाका खेलाडी । तस्बिरहरू : केशब गुरुङ

काठमाडौं, फागुन २४ गते । हिमालयन शेर्पाले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाले पुलिसलाई १–० गोलले हरायो ।


हिमालयन शेर्पाले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेको हो । शेर्पाको जितमा अमृत श्रेष्ठ नायक बन्नुभयो । अमृतले डिबक्स भित्र घम्साघम्सीबीच प्राप्त बलमा गोल गर्नुभएको हो ।

लिगमा शेर्पाको यो पहिलो जित हो । यसअघि लिगको आफ्नो पहिलो खेलमा शेर्पाले मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । जितसँगै शेर्पाले चार अङ्क बनाएको छ । पुलिसको भने यो लगातार दोस्रो हार हो । लिगको पहिलो खेलमा पुपलस नव प्रवेशी चर्च ब्वाइन क्लबसँग २–१ गोलले पराजित भएको थियो । 

खेलको सुरूवातदेखिनै पुलिसमाथि दबाब जमाएको शेर्पाले पहिलो हाफमा पेनाल्टीको मौका खेर फालेको थियो । ३१औँ मिनेटमा निशान लिम्बुको पेनाल्टी प्रहारलाई पुलिसका गोल रक्षक शत्रुघन चौधरीले विफल पार्नुभएको थियो । डिबक्सभित्र अजित भण्डारीले अबायोमी फकुन्लेलाई लडाएपछि शेर्पाले पेनाल्टीको मौका पाएको थियो । 


खेलपछि शेर्पाका प्रशिक्षक सानु श्रेष्ठले पहिलो हाफमा लगातार मौका पाएपनि गोल गर्न नसक्नुक मजोरी भएको बताउनुभयो । ‘‘हामीले सोचे जस्तो खेल्न सकेनौँ । सेटका विदेशी खेलाडीले अभ्यासमा जस्तो खेल मैदानमा देखाउन सकेनन् ।

पहिलो हाफमा पेनाल्टी मिस गर्नु अर्को  कमजोरी भयो । अन्तिममा एउटा गोलले हामीलाई जोगायो । आगामी खेलमा सुधार गरेर अगाडि बढ्नेछौँ,’’ श्रेष्ठले भन्नुभयो ।

पुलिसका प्रशिक्षक चेतकुमार घिमिरेले जितका लागि खेलेपनि खेलाडीले सोचेजस्तो खेल्न नसकेको बताउनुभयो । ‘‘कम्तीमा बराबरीमा सकिने अवस्था थियो । सानो गल्तीले अन्तिममा गोल खानु कमजोरी भयो । लगातार हारले थप दबाब बढेको छ ,’’ घिमिरेले भन्नुभयो ।


यसैगरी च्यासल मैदानमा बुधबार नै भएको अर्को खेलमा सातदोबाटो यूथ क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई १–० गोलले पराजित गरेको छ । सातबाटोको जितमा विलियम ओपोको आसिएडुले निर्णायक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा विलियमले ५५औँ मिनेटमा गरेको गोल सातदोबाटोको जितमा पर्याप्त बन्यो । 

सातदोबाटोको यो लगातार दोस्रो जित हो । जितसँगै सातदोबाटोले ६ अङ्क बनाएको छ । लिगको आफ्नो पहिलो खेलमा सातदोबाटोले एनआरटी क्लबलाई हराएको थियो । एपीएफको यो पहिलो हार हो । पहिलो खेलमा एपीएफले थ्रीस्टारलाई हराएको थियो ।